काठमाडौं । चलचित्र ‘पाँच पाण्डव’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको ट्रेलर–२ सार्वजनिक गरेको हो ।
सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य पात्र र उनीहरूको भूमिकालाई प्रस्तुत गरिएको छ । ट्रेलरको केन्द्रमा अभिनेता हरिवंश आचार्य छन् । युधिष्ठिरको भूमिकामा देखिएका हरिवंशकै वरिपरि ट्रेलरको कथा घुमेको छ ।
पृथ्वीमा रहेका आफ्ना भाइहरू दुःखमा रहेको थाहा पाएपछि युधिष्ठिर पृथ्वीलोक आइपुग्छन् । त्यसपछि समस्यामा परेका भाइहरूलाई कसरी मुक्त गराउने भन्ने उनको मुख्य उद्देश्य देखिन्छ । हरिवंशले भीम, अर्जुन र सहदेव भन्दै अन्य पात्रलाई आफ्ना भाइका रूपमा प्रस्तुत गरेका छन् । उनीहरूलाई साथ दिँदै अन्याय, विकृति र विसंगतिविरुद्ध संघर्ष गरिरहेको दृश्य ट्रेलरमा देख्न सकिन्छ ।
समाजमा देखिएका विभिन्न समस्याविरुद्ध आवाज उठाउँदै पीडितको उद्धारमा जुटेका हरिवंशको चरित्रलाई ट्रेलरले विशेष प्राथमिकता दिएको छ । क्यासिनोमा छोटा कपडा लगाएकी युवती देख्दा उनको शरीर ढाकिदिने दृश्यले समेत सभ्य समाज निर्माणप्रतिको उनको सोचलाई संकेत गर्छ ।
अन्याय, हिंसा र अत्याचारविरुद्ध पाँच भाइले गर्ने संघर्ष र विद्रोह नै चलचित्रको मुख्य कथावस्तु रहेको ट्रेलरले संकेत गरेको छ ।
बसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र आगामी कात्तिक २० गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रमा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरी र दीपाश्री निरौलालगायत कलाकार मुख्य भूमिकामा छन् ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री) लगायतको पनि अभिनय रहेको छ ।
नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेको चलचित्रकी निर्माता काली रानी श्रेष्ठ हुन् । नवीनले यसअघि ‘लाज शरणम्’ निर्माण गरेका थिए । चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन् । सामाजिक कथावस्तुमा आधारित चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र विम्बमार्फत समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्ने लेखक पौडेलले बताएका छन् ।
श्याम तामाङको छायांकन रहेको चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन र सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ । गम्भीर विष्ट र विक्रम स्वाँरले कोरियोग्राफी गरेका छन् । चलचित्रमा अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक र पुकार धिमालको भिएफएक्स रहेको छ ।
चलचित्रलाई डल्बी एटमस साउन्डमा तयार गरिएको निर्माण पक्षले जनाएको छ । ओएसआर डिजिटल चलचित्रको डिजिटल पार्टनर रहेको छ भने आरआर फिल्म्सले देशव्यापी वितरण गर्नेछ ।


