काठमाडौँ, कात्तिक १८ गते । सडक उपयोग दस्तुर सङ्कलनका लागि ‘रेडियो आवृत्ति पहिचान’ (रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन, आरएफआइडी) प्रविधि कार्यान्वयनमा आउन नसकेपछि मुलुककै पहिलो अत्याधुनिक नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको टोल बुथमा सवारीसाधनको जाम देखिएको छ । सुरुङमार्ग सञ्चालन र कर्मचारीको अभ्यास पूरा नहुँदै हतारमा टोल उठाउन थालिएकोले व्यवस्थापन कमजोर देखिएको छ ।
सुरुङमार्गमा पूर्ण स्वचालित ‘एन–ट्याग’ प्रणालीबाट शुल्क उठाउने योजना भए पनि सर्भरको प्राविधिक समस्या तथा तयारी नपुग्दा बैङ्कमार्फत ट्याग वितरण हुन सकेको छैन । अहिलेसम्म स्वचालित कार्ड वा ट्याग नहुँदा अहिले टोल बुथमा कर्मचारीले नगद लिने र खुद्रा पैसा फिर्ता गर्ने तथा क्युआर कोड स्क्यान गराएर म्यानुअल रूपमा बिल काट्ने गरिएको छ, जसले प्रतिवाहन बढी समय लिइरहेको छ । सडक उपभोग दस्तुर (टोल शुल्क) उठाउन थालेपछि सुरुङमार्गको दुवै पोर्टल (पूर्वी र पश्चिमी) मा सवारीसाधनको लामो जाम र सास्ती देखिएको हो । सुरुङमार्ग पार गर्न केही मिनेट मात्र लागे पनि टोल प्लाजामा सडक उपयोग दस्तुर (टोल फी) बुझाउन लामो समय लाइन बस्नुपर्ने बाध्यता सिर्जना भएको छ । यो सुरुङमार्ग कात्तिक १५ गतेदेखि सशुल्क सञ्चालनमा आएको हो ।
छिटो र सहज यात्राका लागि निर्माण गरिएको यो सुरुङमार्गमा सडक उपयोग दस्तुर तिर्न नै घन्टौँ लाइन बस्नु परेपछि यात्रु र चालकले आक्रोश तथा गुनासो व्यक्त गरेका छन् । सुरुङमार्गले घन्टौँको जाम छल्ने अपेक्षा गरिएकोमा टोल बुथकै जामले सास्ती थपेकाले सम्बन्धित मन्त्रालय र आयोजनाले तत्काल प्राविधिक त्रुटि सुधार गर्नुपर्ने जोड यात्रुको छ ।
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका उपनिर्देशक सञ्जय पन्थीले स्वचालित रूपमा दस्तुर सङ्कलन गर्ने उद्देश्यले जडान गरिएको ‘रेडियो आवृत्ति पहिचान’ (आरएफआइडी) प्रविधि पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा यो अवस्था सिर्जना भएको बताउनुभयो । यो प्रविधि सञ्चालनमा आइसकेपछि बुथमा सवारीसाधनको जाम नहुने उहाँले दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, “पूर्ण रूपमा स्वचालित किसिमले टोल बुथ सञ्चालनका लागि सम्बन्धित सबै प्रणाली तयार भइसकेको छ । मोबाइल एप्स तयार भइसकेका छन् । बैङ्कबाट कार्ड जारी हुन बाँकी छ । बैङ्कहरूले आन्तरिक तयारी गरिरहेका छन् । सडक दस्तुर कार्ड प्रणालीमा गइसकेपछि जामको अवस्था आउँदैन । चार/पाँच सेकेन्डमै खुलिहाल्छ । सबै कुरा स्वचालित हुन्छ ।” त्यसै गरी अपेक्षितभन्दा बढी सवारी चाप भएका कारणले पनि टोल बुथमा सवारीसाधनको चाप देखिएको उहाँले बताउनुभयो । दैनिक करिब आठ हजार सवारीसाधन सो सुरुङ भएर ओहोरदोहोर गर्ने गरेको उहाँले जानकारी दिनुभयो । दैनिक बढीमा पाँच हजार सवारीसाधन गुड्ने अनुमान गरिएकोमा दस्तुर सङ्कलन सुरु भएको पहिलो दिन नै सात हजार पाँच सय सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेकोले जसले टोल बुथमा अचानक दबाब आएको उहाँले बताउनुभयो ।
दुई दिनमा चौबिस लाख सङ्कलन
आयोजनाका उपनिर्देशक पन्थीले यो सुरुङमार्ग उपयोग गरेबापत अपेक्षित रूपमा दस्तुर सङ्कलन भइरहेको बताउनुभयो । उहाँका अनुसार पहिलो दिन ११ लाख ८० हजार रुपियाँ र दोस्रो दिन १२ लाख ५० हजार रुपियाँ सडक उपयोग दस्तुर सङ्कलन भएको हो ।
जाम हटाउन के गर्ने ?
प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति तथा यातायात पूर्वाधारविज्ञ आशिष गजुरेलले नागढुङ्गा सुरुङमार्गको टोल बुथमा देखिएको सवारीसाधनको जामलाई हटाउन सडक उपयोग दस्तुर सङ्कलनलाई पूर्ण रूपमा नगदरहित (क्यास लेस) बनाउनुपर्ने सुझाव दिनुभयो । रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआइडी) र ‘एन–ट्याग’ प्रणालीलाई पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने पनि उहाँले बताउनुभयो ।
सडक बोर्ड र सम्बन्धित बैङ्कको सर्भरमा रहेको प्राविधिक समस्या तुरुन्त समाधान गरी सवारीसाधनमा ‘एन–ट्याग’ वितरण गर्ने र बिनाअवरोध गाडी हुइँकन सक्ने ‘फास्ट–ट्र्याक’ टोल लेन सञ्चालनमा ल्याउनुपर्ने उहाँले बताउनुभयो । त्यसै गरी डिजिटल भुक्तानीलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ । क्युआर कोडलाई थप द्रुत बनाउने तथा अनलाइन वालेट वा प्रिपेड कार्डको प्रयोग बढाएर म्यानुअल नगद लेनदेनलाई न्यून गर्दै जानुपर्ने देखिन्छ । प्रविधिका साथै टोल बुथ सङ्ख्या र जनशक्ति थप्नुपर्ने आवश्यक देखिएको छ । बढ्दै गएको सवारी चापलाई ध्यानमा राख्दै टोल बुथका काउन्टर सङ्ख्या बढाउने र थप प्रशिक्षित कर्मचारी खटाएर सेवा प्रवाह छिटो बनाउनुपर्ने आवश्यकता देखिएको छ ।
सुरुङमार्ग आयोजनाले मात्र नभई सम्बन्धित सवारीचालक पनि चनाखो हुनुपर्ने हुन्छ । चालकले सुरुङ प्रवेश गर्नुअघि नै आवश्यक खुद्रा रकम वा डिजिटल भुक्तानीको तयारी गर्न सूचना प्रवाह गर्नुपर्ने आवश्यकता देखिएको हो ।


