काठमाडौं । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय फुटबल टोलीबाट आफ्नो यात्रा टुंग्याउने घोषणा गरेका छन् । २३ वर्षभन्दा लामो समय पोर्चुगलको प्रतिनिधित्व गरेका ४१ वर्षीय रोनाल्डोले भावुक सन्देशमार्फत राष्ट्रिय टोलीबाट बिदा लिने निर्णय सार्वजनिक गरेका हुन् ।
सामाजिक सञ्जालमा भिडियो सन्देश सार्वजनिक गर्दै उनले पोर्चुगलको सात नम्बर जर्सी अब नयाँ पुस्तालाई सुम्पिने समय आएको बताएका छन् ।
‘आज यो जर्सी भविष्यको पुस्तालाई हस्तान्तरण गर्ने समय आएको छ । यो सजिलो निर्णय थिएन । जीवनका केही निर्णय दिमागले मात्रै होइन, मनले पनि गर्नुपर्छ,’ रोनाल्डोले भनेका छन् ।
सन् २००३ अगस्टमा पोर्चुगलको राष्ट्रिय टोलीबाट डेब्यु गरेका रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा थुप्रै कीर्तिमान बनाएका छन् । उनको खेल कौशल, गोल गर्ने क्षमता, जितप्रतिको तीव्र चाहना र अन्तिम समयसम्म हार नमान्ने स्वभावले उनलाई विश्व फुटबलकै चर्चित खेलाडी बनाएको छ ।
रोनाल्डोले आफ्नो अन्तर्राष्ट्रिय यात्रालाई सम्झिँदै व्यक्तिगत उपलब्धिभन्दा देशको जर्सी लगाएर खेल्नु र समर्थकको माया पाउनु ठूलो सम्मान भएको बताएका छन् । उनले विदेशमा बस्ने पोर्चुगिज नागरिकसँग राष्ट्रिय टोलीको खेलका क्रममा जोडिएको भावनात्मक सम्बन्धलाई पनि स्मरण गरेका छन् ।
‘मैले कहिल्यै नभेटेका लाखौँ पोर्चुगिज नागरिक पनि मेरो जीवनको हिस्सा बने,’ उनले भनेका छन् ।
पोर्चुगललाई अन्तर्राष्ट्रिय फुटबलमा ऐतिहासिक सफलता दिलाउन रोनाल्डोको योगदान महत्त्वपूर्ण छ । सन् २०१६ मा पोर्चुगलले पहिलोपटक युरोपियन च्याम्पियनसिप (युरो) को उपाधि जित्दा उनी टोलीका कप्तान थिए । त्यसैगरी, सन् २०१९ मा यूईएफए नेसन्स लिगको पहिलो संस्करण जित्दा पनि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
राष्ट्रिय टोलीबाट रोनाल्डोको बिदाइसँगै पोर्चुगिज फुटबलको एउटा ऐतिहासिक अध्याय अन्त्य हुने भएको छ । मैदानमा उनको उपस्थिति, कीर्तिमान र देशका लागि पुर्याएको योगदान भने समर्थकका लागि सधैँ स्मरणीय रहनेछ ।


