दाङको बंगलाचुली गाउँपालिकामा एक पुरुषको हत्या भएको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर ६ अघरा निवासी शिवराज केसीको हत्या भएको हो ।
केसीलाई हत्या गरी बंगलाचुली गाउँपालिका वडा नम्बर ४ को गदारी र फाँटाको जंगलमा रहेको कोइला खानीको सुरुङभित्र शव लुकाइएको अवस्थामा फेला पारेको स्थानीय अगुवा विक्रम डाँगीले जानकारी दिए ।
मृतक केसी घोराहीस्थित अघरा टोल विकास संस्थाका अध्यक्ष समेत हुन् । मृतक शिवराज केसी यही पुस ८ गते घरदेखि बंगलाचुली जान्छु भनि हिडेको र सोही दिन नै हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
हत्या आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । केसीको हत्या आरोपमा बंगलाचुली गाउँपालिका वडा नम्बर ४ गदारी निवासी वर्ष ४३ का शेरबहादुर कुँवर र उनकी श्रीमती दिपा कवरलाइ भारतको नयाँ दिल्लीबाट नियन्त्रणमा लिइएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


