नेपालमा सुन, फलाम, तामा जस्ता बहुमूल्य धातुहरू नेपालमा हुन सक्ने आकलनका आधारमा अहिले खोजतलास भइरहेको छ।
सुनको खानी खोजीका लागि अहिलेसम्म दुइटा लाइसेन्स जारी गरिएको छ भने खानी तथा भूगर्भ विभागले चालु आर्थिक वर्षमा उत्खननका लागि पाँचवटा उद्योगलाई लाइसेन्स प्रदान गरेको छ। अहिलेसम्म १६ वटाभन्दा बढी खनिज वस्तु नेपाली भू-भागबाट उत्खनन भएको छ।
२८ थरीका यस्ता वस्तु नेपाली भूभागमा रहेको अनुमानका आधारमा खोजतलासका लागि अनुमति लाइसेन्स वितरण गरिएको छ। त्यस्तै १८ वटा यस्ता वस्तु उत्खननका लागि अनुमति दिइएको विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिएका छन्।
विभागका सिनियर डिभिजनल जियोलोजिस्ट नारायण बाँस्कोटाका अनुसार चालु वर्षमा चारवटा चुनढुंगा र एउटा कोइला खानी उत्खननका लागि अनुमति जारी गरिएको हो।
त्यस्तै खानी खोजतलासका लागि यो वर्ष ५८ वटा अनुमति दिइएको छ। कुनै पनि सूचना, जानकारी वा शंकाको आधारमा सम्बन्धित खनिज भएरनभएको पुष्टि गर्न पहिले खोजतलास गरिन्छ। खोजतलासबाट सम्बन्धित धातु वा खनिज पत्ता लागेमा उत्खनन गरिन्छ। गत वर्षसम्म विभिन्न १८ वटा वस्तु उत्खननका लागि १५९ वटा लाइसेन्स जारी गरिएको थियो।
सुन, चाँदी, हिरा, मोती, फलाम, ढुंगा, माटोदेखि पेट्रोल तथा कोइलासम्म सबै खानीमा आधारित सामाग्री हुन्। यस्ता खानीहरू कहाँ छन्, वार्षिक कति यस्तो सामग्री निकालिएको छ, यस्ता सामग्री निकाल्दा सरकारले वार्षिक कति रोयल्टी प्राप्ति गरेको छ र कुन खनिज खोजतलासीका लागि कति लाइसेन्स दिइएको छ भन्नेबारे यहाँ उल्लेख गरेको छ ।



