सगरमाथाको फेदीमा एघार वर्षदेखि बन्द अन्तर्राष्ट्रिय पिरामिड प्रयोगशाला पुनः सञ्चालनमा आउने भएको छ । बजेट अभावमा सन् २०१३ देखि बन्द रहेको प्रयोगशाला नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विज्ञान कूटनीतिको अवधारणा जागृत गर्दै बहुउपयोगी ढाँचामा पुनः सञ्चालन गर्न लागेको हो ।
सोलुखुम्बुस्थित सगरमाथा राष्ट्रिय निकुञ्जको लोम्बुचेमा स्थापना भएको प्रयोगशाला मातहतका अध्ययन अनुसन्धान बन्द हुँदा सगरमाथाबारे विश्वकै वैज्ञानिक गतिविधि ठप्प बनेको थियो ।
केटु केन्द्रित अध्ययन अघि बढाउन बनेको सहमति र सिएनआरले बजेट दिने प्रतिबद्धता आएसँगै पिरामिड प्रयोगशालाको प्रयोग सुनिश्चित भएको हो । नेपाललाई विशिष्ट वैज्ञानिक अध्ययनको केन्द्र बनाउन प्रयोगशालाको सदुपयोगी रणनीतिको खाका बनिसकेको नास्टका सचिव डा. रवीन्द्रप्रसाद ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “उताबाट बजेट आउनेवित्तिकै अध्ययन अनुसन्धानको नयाँ बाटो खुल्छ ।” जसका लागि नास्टले सिएनआरसँगको सम्झौता पनि नवीकरण गरेर स्वामित्व लिएको छ ।
यो प्रयोगशाला सन् १९९० सर्वोच्च शिखर सगरमाथा र दोस्रो सर्वोच्च शिखर पाकिस्तानको केटु हिमालका नाममा एभरेस्ट–केटु–इटालियन राष्ट्रिय अनुसन्धान परिषद् (सिएनआर) परियोजना अन्तर्गत स्थापना भएको थियो ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा सञ्चालित प्रयोगशालाका लागि सन् २०१३ देखि बजेट आउन बन्द भएपछि यस अन्तर्गत हुने अध्ययन अनुसन्धानको गतिविधि ठप्प बनेको थियो । त्यसबेला सगरमाथाभन्दा केटु हिमाल अग्लो भन्ने भ्रम चिर्नकै लागि पनि विश्वकै उच्च हिमाली भेगमा प्रयोगशाला बनाएर रेकर्ड राखिएको थियो ।


