जाजरकोटका डिपोहरू रित्तिदा खाद्यान्न अभाव भएको छ । खाद्यान्न डिपोहरूमा चामल मौज्दात नहुँदा स्थानीय मर्कामा परेका छन् । जिल्लाको जुनीचाँदे गाउँपालिका–७ रजुतरा बिक्री केन्द्र चामलविहीन छ । खाना खानालाई नागरिकहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको रजुतरा विक्री केन्द्र तिर वेला–वेला पुग्ने गरेका छन् ।
विक्री केन्द्रमा चामल आउला भनेर आशै–आसमा बसेका नागरिकहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल पठाउन नसकेपछि निराश बनेका छन् । गत वर्ष १३ हजार क्विन्टल चामल बिक्री भएको जाजरकोटमा यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ६ हजार ५० क्विन्टल चामल स्वीकृत गरेको थियो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय, जाजरकोटका कार्यालय प्रमुख राम प्रसाद पौडेल चालु आर्थिक वर्षको हालसम्म खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जाजरकोटमा ८ सय ४० क्विन्टल मात्र चामल आपूर्ति गरेको जानकारी दिनुभएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्षमा बाँकेको नेपालगन्जदेखि शाखा कार्यालय जाजरकोटमा ३८० क्विन्टल र बर्दियाको राजापुरदेखि ३८० क्विन्टल १० किलो चामल आपूर्ति गरेको छ, बाँकेको नेपालगन्जदेखि छेडागाड नगरपालिकाको घोगी डिपोमा ८० क्विन्टल मात्र चामल आपूर्ति गरेको छ ।
जाजरकोट जिल्लामा मात्र नभएर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णाली प्रदेशका सबै जिल्लामा स्वीकृत भएको कोटा अनुसारको चामल आपूर्ति गर्न सकेको छैन ।


