सिद्धार्थ राजमार्गमा निर्माणाधिन सिद्धबाबा सुरुङमार्गले गति लिएको छ ।
आयोजनाका अनुसार यस आयोजनाको मुख्य सुरुङमार्ग उत्खननको कामको प्रगति साउथ पोर्टलतर्फ १९.७ मिटर भइसकेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत सर्वाधिक पहिरोग्रस्त क्षेत्र सिद्धबाबामा सुरुङ खन्ने काम ४ माघदेखि औपचारिक रुपमा सुरु भएको हो ।
सुरुङमार्गतर्फ बाइपास टनेल प्रथम ५.८ मिटर, बाइपास दोस्रो ७ मिटर र बाइपास टनेल तेस्रोको ४ मिटर उत्खनन भइसकेको छ । स्लोप कटिङ र प्रोटेक्सनतर्फ १८८ मिटर बराबरको काम भएको छ ।
आयोजनाका अनुसार यो आयोजनाको भौतिक प्रगति १०.४५ प्रतिशत पुगेको छ । जसमध्ये ६.४ प्रतिशतमा डिजाइन, विस्तृत अध्ययन, रूखकटान, ल्याब तथा पवार सप्लाइका काम पर्छन् भने ४.०५ प्रतिशत प्रगति भने संरचना भएको देखिएको छ ।
पोखरासँग जोड्ने सुरुङमार्ग पूरा भएपछि सो क्षेत्रमा पहिरोको जोखिम घटाउने र स्थानीय आर्थिक विकासमा समेत योगदान पुग्ने अपेक्षा लिइएको छ ।
यो आयोजना ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का लागेको हो । अहिले नारायणगढ–बुटवल सडक खण्डको कामको ठेक्का पाएकै कम्पनीले सुरुङ मार्ग बनाउन थालेको हो । यो सडक खण्डको काममा ढिलाइ गर्दा आलोचना बेहोरेको कम्पनीले अबको ४ वर्षभित्र सुरुङ मार्गको निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने जिम्मेवारी छ ।
कस्तो बन्दैछ सुरुङ
आयोजनाका अनुसार यहाँ बुटवल र पाल्पा दुवैतर्फ जोखिमयुक्त सडकमा दुई लेनको सडक बनाइने छ । सडकको माथिल्लो भागमा सुरक्षा संरचनाहरु बनाइने छ । यसले सडक माथिबाट खस्ने ढुंगाहरुलाई सिधै तल झार्ने छ । यसरी कुल ३ किलोमिटर सडकलाई सुरक्षित गराउने योजना छ ।
सुरुङ मार्गको तीन स्थानमा खुला स्थान राखिने भएको छ । आकस्मिक घटना भइहालेमा सोही स्थानबाट उद्धारको काम हुने छ । सुरुङ मार्ग निर्माणका लागि १६ पुसदेखि सिद्धार्थ राजमार्ग समेत ६ घण्टा बन्द गरिएको छ । यहाँ सुरुङमार्ग निर्माणको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल तथा स्लोपको काम गर्दा सडक साघुरो हुने भएपछि बाटो बन्द गरी काम थालिएको आयोजनाको भनाइ छ ।


