इजरायलस्थित नेपाली राजदूतावासले इजरायलमा कार्यरत नेपाली नागरिक सुरक्षित रहेको प्रस्ट पारेको छ ।
द्वितीय सचिव कुमारबहादुर श्रेष्ठले इरानले इजरायलका विभिन्न क्षेत्रमा लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरे पनि नेपाली नागरिकलाई कुनै किसिमको क्षति नभएको जानकारी दिनुभएको हो ।
उहाँले इजरायलका विभिन्न सहरमा कार्यरत नेपालीलाई स्थानीय सुरक्षा निर्देशिका पालना गर्न, सम्बन्धित क्षेत्रका सन्दर्भमा जारी सुरक्षासम्बन्धी सूचनाप्रति जानकार रहन सूचित गरिएको बताउनुभयो । उहाँले टेलिफोनमार्फत भन्नुभयो, “इजरायलमाथि भएको आक्रमणका क्रममा कुनै पनि हताहतीको जानकारी आएको छैन ।
आक्रमणपछि यहाँ कार्यरत नेपाली साथी हाम्रो सम्पर्कमा आउनुभएको छ तर बलियो आन्तरिक सुरक्षा व्यवस्थापनका कारण त्यस्तो कुनै क्षति हुन पाएन भन्ने जानकारी दिनुभएको छ ।”
श्रेष्ठले आफ्नो सुरक्षामा विशेष ध्यान दिन र अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन पनि आग्रह गरिएको बताउनुभयो । उहाँले कुनै समस्या भए दूतावासमा सम्पर्क गर्न आग्रह गर्नुभयो । उहाँका अनुसार इरानको आक्रमणलगत्तै इजरायली होम फ्रन्ट कमान्डले सर्वसाधारणका लागि विशेष निर्देशन जारी गरी शैक्षिक क्रियाकलाप, सभा तथा भेला नगर्न सूचित गरेको छ ।


