वैशाख ४,काठमाडौं– सत्ता गठबन्धनभित्र स्थानीय तहको निर्वाचनमा सिट बाँडफाँटबारे सहमति जुट्न सकेको छैन ।बालुवाटारमा आज बसेको गठबन्धनको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठकमा चुनावी तालमेलका लागि सिट बाँडफाँटका बिषयमा सहमति हुन नसकेको हो । बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले सिट बाँडफाँटको छलफल लम्बिएको जानकारी दिनुभयो । यसबिषयमा भोलि पुनः छलफल हुने उहाले बताउनुभयो ।
बालुवाटार स्रोतका अनुसार नेकपा एकीकृत समाजवादीले महत्वपूर्ण स्थानमा दावी गरेपछि समस्या उत्पन्न भएको हो । सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गर्ने समझदारी गरिसकेका छन् । तर कुन तहमा कसलाई उठाउने भन्ने निष्कर्षमा पुग्न सकेका छैनन् ।


