वैशाख ९ ,भरतपुर । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको बिदाइ गरिएको छ । अर्को कार्यकालका लागि सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा मेयर पदमा उठ्ने भएपछि राजीनामा दिएकी दाहाललाइ आज एक कार्यक्रमको बिच बिदाइ गरिएको हो।
कार्यवाहक प्रमुख पार्वती शाह ठकुरीको उपस्थितिमा शुक्रबार महानगरपालिकाले दाहाललाई बिदाइ गरेको हो । सोही अवसरमा अर्को कार्यकाल चुनाव लड्न लागेका वडाअध्यक्ष तथा वडा सदस्यहरूलाई पनि महानगरपालिकाले बिदाइ गरेको थियो ।
सो क्रममा दाहालले आफूले आसन्न स्थानीय निर्वाचनमा उमेद्वारी दिने योजनाका साथ राजीनामा गरी निर्वाचनमा होमिएको बताउँदै कार्य सम्पादनको ५ वर्षको अनुभूतिहितको मन्तव्य राखेकी थिइन् । दाहालले भरतपुर महानगरपालिका देशकै पालिकाहरूमा अब्बल बन्न सकेको भन्दै खुसी व्यक्त गरिन् ।यो अवधिमा भरतपुर महानगरपालिकाले महानगरको समग्र बिकासमा ठूलो छलाड्ग मारेको उनको भनाइ थियो ।
कार्यवाहक प्रमुख पार्वती शाह ठकुरी र प्रमुख प्रशासकीय अधिकृत रामबन्दु सुवेदीले दाहालसहित वडाअध्यक्षहरू प्रकाश दवाडी ,चित्रसेन अधिकारी , विष्णुराज महतो ,राजेन्द्रमणि काफ्ले, विजय भूजेल लगायतलाई खादा लगाएर बिदाइ गरेका थिए ।
सो क्रममा कार्यबाहक प्रमुख ठकुरीले प्रमुख तथा अन्य वडाध्यक्षहरूलाई आसन्न निर्वाचनमा बिजयी भई पुनः स्वागत गर्न आफूआतुर रहेको भन्दै शूभकामना दिइन् । कार्यक्रममा भरतपुर महानगरका प्रवक्ता तथा वडा नम्बर १० का अध्यक्ष अरूण पीडित भण्डारीले बिदाई हुने सबै जनप्रतिनिधिहरूलाई उज्जल भविष्यको कामना गरे ।



