वैशाख १० ,हेटौँडा : हेटाैँडा उपमहानगरपालिकाको मेयरमा सत्तारुढ पाँच दलीय गठबन्धनबाट मीना लामा उठ्ने भएकी छन्।२०७४ को निर्वाचनमा एमालेबाट हेटौँडाको उपमेयरमा विजय भएकी उनलाई गठबन्धनबाट नेकपा एकीकृत समाजवादीले मेयरको उम्मेदवार बनाउने भएको हो। लामा मेयरमा उठ्ने पक्का भएसँगै मकवानपुर जिल्लाले पनि पहिलोपटक प्रमुख पदमा महिला उम्मेदवार पाउने भएको छ।
मकवानपुरमा हेटौँडा उपमहानगर, थाहा नगरसहित ८ वटा गाउँपालिका छन्। ती १० वटा पालिकाहरुमा १०२ वडाहरू छन्। तर,तीमध्ये कुनै एक वडाले समेत निर्वाचनमा महिलालाई प्रमुख पदमा उम्मेदवारको रुपमा पाएको थिएन।
शनिबार बसेको समाजवादीको बैठकले लामालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै लामाले प्रमुख पदमा उठ्ने पहिलो महिला उम्मेदवारको रुपमा इतिहास नै रच्ने भएकी हुन्।
२०७४ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट उपमेयर पदकी उम्मेदवार बनेकी लामाले तत्कालीन नेपाली कांग्रेस–माओवादी केन्द्रको गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका बलराम बललाई पराजित गरेकी थिइन्। एमाले विभाजन हुँदा लामा समाजवादतिर लागेकी हुन्।
को हुन् मीना लामा ?
२०३३ साल पुस २७ गते बुबा शुक्रबीर लामा र आमा सीतादेवी लामा परिवारको जेठी छोरीको रुपमा जन्मिएकी लामा सानैदेखि राजनीतिमा सक्रिय थिइन्। बाल्यकाल साधारण रुपमा बिताएकी लामाले वि. सं. २०४६ सालबाट विद्यार्थी राजनीति सुरु गरेकी थिइन्।
नवलपुरको त्रिभुवन माविबाट एसएलसी अध्ययन गरेकी उनले मकवानपुर बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा एम ए र हरि खेतान बहुमुखी क्याम्पस वीरगञ्जबाट एलएलबी सम्मको अध्ययन गरेकी छन्। पढाइसँगै राजनीतिक जीवनलाई निरन्तरता दिँदै आएकी लामा २०५२ सालमा एमाले निकट अनेरास्ववियु मकवानपुरको जिल्ला कोषाध्यक्ष समेत भएकी थिइन्।
लामा २०७१ सालमा तत्कालीन एमाले मकवानपुरको उपसचिवमा निर्वाचित भएकी थिइन्।पार्टीमा उनले विद्यार्थी इञ्चार्जको भूमिकामा रहेर काम गरेकी छन्। उनी २०७१ सालमै अखिल नेपाल महिला संघको जिल्ला सचिव भइन्।
२०७२ सालमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्यसमेत भएकी लामा आदिवासी जनजाति जिल्ला समन्वय समिति मकवानपुरको उपाध्यक्ष पनि बनिन्।
राजनीति क्षेत्रमा क्रियाशिल लामा २०७४ को स्थानीय तहको निर्वाचनमा हेटौँडा उपमहानगरपालिकाको उपप्रमुखको रुपमा विजय हाँसिल गरेकी हुन्।राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि लामाको बाक्लो सहभागिता थियो। लामासँग बाल विकासको क्षेत्रमा दश वर्षसम्म काम गरेको अनुभव छ।


