पाल्पामा दर्ता हुने नयाँ उद्योगको तुलनामा बन्द हुने उद्योगहरूको सङ्ख्या बढेको छ । पछिल्लो दुई वर्षयता बन्द हुने उद्योगहरूको सङ्ख्या निरन्तर बढेको हो । नयाँ उद्योग थप हुने क्रम घटेको छ ।
युवाशक्ति विदेश पलायन हुनु, भएका उद्योग नियमित सञ्चालन हुन नसक्नुजस्ता कारण जिल्लामा नयाँ दर्ता हुने उद्योगको सङ्ख्या घटेको हो । केही वर्ष अघिसम्म नयाँ दर्ता हुने उद्योगको सङ्ख्या बढेको थियो । तर पछिल्लो दुई वर्षयता बन्द हुने सङ्ख्या बढेको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले जनाएको छ ।
आव २०७९/०८० मा जिल्लाभर तीन हजार ८९७ उद्योग सञ्चालन रहेकोमा गत आव २०८०/०८१ मा घटेर तीन हजार ८१७ वटा मात्र सञ्चालनमा छ । जिल्लाभर सञ्चालनमा रहेका कृषि, पर्यटन, उत्पादनमूलक र सेवामूलक उद्योगमध्ये सबैभन्दा बढी कृषि तथा वनजन्य उद्योगको सङ्ख्या घटेको हो । गत आव २०८०/०८१ मा मात्र कृषि तथा वनजन्य ४४ वटा उद्योग दर्ता भएकोमा सोही प्रकृतिको ६२ वटा उद्योग बन्द भएको कार्यालयका प्रमुख श्यामकुमार पौडेलले जानकारी दिनुभयो ।
जिल्लामा साना लगानीका उद्योग मात्र होइन, वाणिज्य फर्मको सङ्ख्या पनि घट्दो छ । गत आव २०८०/०८१ मा जम्मा ९१ वटा वाणिज्य फर्म दर्ता भए भने १८६ वटा बन्द भएको कार्यालयका सूचना अधिकारी मनोज घिमिरेले बताउनुभयो । गत आवमा वाणिज्यतर्फ ९१ वटा फर्म दर्ता हुँदा १८ करोड १२ लाख लगानी भएको छ र त्यसबाट २१ लाख ३६ हजार सात सय राजस्व सङ्कलन भएको छ ।
जिल्लामा ठुला उद्योगधन्दा खासै नभए पनि व्यक्तिले एकल चलाएका साना उद्योग बढी छन् । गत आव ९७ वटा नयाँ उद्योग दर्ता हुँदा ४०७ जनाले रोजगार पाएका छन् । यस्तै ती उद्योगमा २१ करोड ९८ लाख बराबरको पुँजी लगानी भएको र त्यसबाट १५ लाख ६४ हजार पाँच सय रुपियाँ राजस्व प्राप्त भएको घिमिरेले बताउनुभयो ।


