इसराइलको आक्रमणमा लेबननमा एकैदिन झन्डै पाँच सय जनाको मृत्यु भएको छ।
इसराइलले गत मंगलबारदेखि हिजबुल्लाहविरूद्धको कारबाही भन्दै लेबननमा विभिन्न तरिकाको आक्रमण गर्दै आएकोमा सोमबारको आक्रमणमा एकैदिन ४९२ जनाको मृत्यु भएको हो।
लेबननको स्वास्थ्य मन्त्रालयका अनुसार मारिनेमा ३५ बालबालिका र ५८ जना महिला छन्। इसराइलको उक्त आक्रमणलाई सन् २००६ को इसराइल-हिजबुल्लाह युद्धयताकै सबैभन्दा ठूलो आक्रमण भनिएको छ।
आक्रमणमा १ हजार ६४५ जना घाइते भएको समाचार संस्था एशोशियटेड प्रेसले जनाएको छ। हिजबुल्लाहले पनि सोमबार इसराइलका उत्तरी भूभागहरूमा रकेट प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यद्यपि क्षतिबारे भने खुलाइएको छैन।
इसराइलले लेबननमा गरेको आक्रमणप्रति कतार र इजिप्टले निन्दा गरेको छ। यसले मध्यपूर्वमा क्षेत्रीय युद्धको खतरा निम्त्याएको भन्दै इसराइललाई संयम रहन आग्रह गरेको छ। इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने हिजबुल्लाहले हातहतियार राखेको ठाउँहरूबाट लेबननी नागरिकहरूलाई हट्न आग्रह गरेका छन्।
मंगलबारको आक्रमणमा मारिएका केहीको सामूहिक अन्तिम संस्कार भइरहेको ठाउँमा समेत बुधबार वाकी/टकी विस्फोट भएर केही हताहत भएका थिए।


