वैदेशिक रोजगारमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण गर्ने अधिकांश स्वास्थ्य संस्था (मेडिकल) मापदण्ड विपरीत भेटिएका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको एक कार्यदलको अध्ययन प्रतिवेदनले अधिकांश संस्थाले मापदण्ड पूरा नगरी सेवा दिइरहेका देखाएको हो।
वैदेशिक रोजगार ऐनको दफा ७२ तथा वैदेशिक रोजगार नियमावली २०६४ को नियम ४५ ‘क’ मा वैदेशिक रोजगारीमा जाने कामदारले विदेश जानुअघि सरकारबाट स्वीकृति पाएका स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउनुपर्ने व्यवस्था छ।
नेपालमा वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि २१५ वटा स्वास्थ्य संस्थाले स्वीकृति पाएका छन्। मलेसिया जाने श्रमिकको मात्रै स्वास्थ्य परीक्षण गर्न ३६ वटा संस्था छन्। श्रम मन्त्रालयमा सूचीकृतमध्येबाट मलेसियाले ३६ वटा मात्रै छानेको हो।
साउदी अरब, कुवेत, बहराइन, युएई जाने श्रमिकको स्वास्थ परीक्षणका लागि खाडी देशको सरकार, राजनैतिक र आर्थिक साझेदारी गर्न गठित गल्फ कोअपरेसन काउन्सिल (जिसिसी) बाट छानिएका १९ संस्था (गाम्का अन्तर्गतका) ले मात्रै जिम्मेवारी पाएका छन्। कतार जाने श्रमिकका लागि पछिल्लो समय कतार भिसा सेन्टर खडा गरिएको छ। त्यस्तै अन्य मुलुकका लागि १५७ संस्थाले जिम्मा पाएका छन्।
यी संस्थामध्ये अधिकांशले स्वास्थ्य परीक्षण नै नगरी श्रमिकलाई मेडिकल पास भएको रिपोर्ट दिने, नक्कली रिपोर्ट बनाउने गरेका घटना बाहिरिइरहन्छन्। त्यसो हुँदा गन्तव्य मुलुकमा पुगेर मेडिकल फेल भएर युवाहरू फर्किनुपरेका थुप्रै घटना छन्। अध्ययनले मापदण्डमा उल्लेख भएअनुसार सबै स्वास्थ्य परीक्षण नभएको समेत देखाएको छ।यहाँ गुणस्तरीय स्वास्थ्य परीक्षण नहुँदा विभिन्न रोगले ग्रसित युवाहरू पनि गन्तव्य मुलुक पुग्ने र त्यहाँको हावापानी तथा कडा परिश्रमका कारण ज्यानै जाने गरेको भयावह अवस्था छ। कतिपय युवा गन्तव्य पुगेर स्वास्थ्य समस्या अझ जटिल भएपछि फर्किन बाध्य छन्।


