नेपाल विद्युत् प्राधिकरण बागलुङले जिल्लाको दूरदराजसम्म केन्द्रीय प्रसारण लाइन विस्तार गर्न थालेको छ । हिलेसम्म केन्द्रीय लाइन नपुगेको पश्चिम बागलुङको निसीखोला, तमानखोला र ढोरपाटनमा प्रसारण लाइन विस्तार गर्न थालिएको हो ।
अघिल्लो वर्षदेखि नै विकट गाउँमा केन्द्रीय प्रसारण लाइन जोड्न थालिएको विद्युत् प्राधिकरण बागलुङका प्रमुख पवन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकाको अधिकांश ठाउँ केन्द्रीय लाइन पुगेको छ । बडिगाड ४० र ताराखोलामा ६० प्रतिशत बस्तीमा लाइन पुगिरहेको उहाँको भनाइ छ ।
जिल्लाका ६५ प्रतिशत नागरिकले केन्द्रीय प्रसारण लाइन बाल्न पाएको भन्दै अन्यले स्थानीय लघु जलविद्युत्को प्रयोग गर्दै आएको प्रमुख पौडेल बताउनुहुन्छ । बागलुङको निसेलढोरबाहेक सबै ठाउँमा विद्युत्को पहुँच पुगेको छ । चालु आर्थिक वर्षमा बागलुङ जिल्लाभर केन्द्रीय विद्युत् विस्तारका लागि रु १४ करोड लागतमा नौवटा ठेक्का लगाएर काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।
जिल्लामा ९८ वटा लघु जलविद्युत् आयोजना छन् । जसबाट धेरै नागरिक लाभाम्वित भए पनि निसीखोला गाउँपालिका–६ निसेलढोरमा भने अहिलेसम्म लघु जलविद्युत् र केन्द्रीय प्रसारण लाइन कुनै पनि पुग्न सकेको छैन । विद्युत्को सुविधा नहुँदा अहिले यहाँका सयौँ नागरिक अन्धकारमा बस्न बाध्य रहेको स्थानीय सम्झना रसाइलीले बताउनुभयो । विद्युत् नहुँदा बत्ती बाल्न, मोबाइल चार्ज गर्न र साना तथा मझौला उद्यग सञ्चालन गर्न नपाएको उहाँले गुनासो पोख्नुभयो ।


