भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पाइपलाइनबाटै पेट्रोलियम पदार्थको आयात गर्न परीक्षण सुरुवात भएको छ ।
यसका लागि पेट्रोलियम पाइपलाइन विस्तारको पूरा भएसँगै परीक्षण थालिएको हो । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तारको सम्पूर्ण काम सकिएको र परीक्षणका लागि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल आयात गर्न थालिएको नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगन्जका प्रमुख प्रलयंकर आचार्यले जानकारी दिनुभयो ।
सन् २०२३ भित्र सम्पूर्ण पूर्वाधार निर्माण सम्पन्न गर्ने गरी लिखिता इन्फास्ट्रक्चर प्रालिलाई ठेक्का दिइएको थियो । तर विभिन्न कारणले केही दिनअघिमात्र पाइपलाइन विस्तारको काम सकिएको प्रमुख आचार्यले बताउनुभयो ।
यस्तै पेट्रोल र डिजेल दुवै हुनसक्ने मिश्रित इन्धन राख्नका लागि दुई ट्रान्समिक्स ट्र्याङ्क र डिपोभित्रको सुरक्षाका लागि तीन हजार किलोमिटर क्षमताको फायरवाटर ट्र्याङ्क भारतीय आयल निगमले निर्माण गरिदिएको छ ।
परियोजनाअन्तर्गत पहिलो चरणको काम सम्पन्न भई गत २०७६ साल भदौ २५ गतेदेखि पाइपलाइनबाट डिजेलको आयात भइरहेको छ । परियोजनाको दोस्रो चरणको सकिएपछि पाइपलाइनबाटै पेट्रोल र मट्टितेलकोसमेत आयात हुने जनाएको छ ।
यो आयोजना निर्माण सम्पन्न भएसँगै अमलेखगन्ज डिपोमा डिजेलको भण्डारण क्षमता २४ हजार आठ सय ४० किलोमिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार छ सय ३० किलोमिटर पुग्नेछ ।


