रौतहटको राजदेवी नगरपालिका–५ पताहीस्थित दलित बस्तीमा आइतवार राति भएको भीषण आगलागीबाट ८ घर जलेर नष्ट भएको छ। आगलागीका कारण ती घरका ५५ जना मानिस प्रभावित भएका छन्।
पीडित बाबुलाल पासवानका अनुसार, आगो घरको पछाडिबाट सुरु भएको थियो। घरमा रहेको ग्यास सिलिन्डर विस्फोट भएपछि आगलागी भयावह बनेको थियो।
जसका कारण बाबुलालसहित दीपेन्द्र पासवान, प्रदीप पासवान, कान्तिदेवी पासवान, नागेन्द्र पासवान, सोगारथ पासवान, र जगरनाथ पासवानका घर पूर्ण रुपमा जलेर नष्ट भएका छन्।
पीडित बाबुलाल पासवानले घर निर्माणका लागि मलेसियामा रहेका छोरा र नेपाल प्रहरीमा कार्यरत छोरी ज्वाइँले पठाएको १७ लाख रुपैयाँ सुरक्षित राखेका थिए, जुन आगलागीमा जलेर नष्ट भएको दुखेसो पोखे।
घटनापछि प्रभावित परिवार त्रिपाल र अस्थायी सामग्रीमा कठ्याङ्ग्रिँदो चिसोमा बस्न बाध्य छन्। स्थानीय रामप्रसाद यादवका अनुसार, बालबालिका, वृद्ध, र महिलाको अवस्था अत्यन्तै नाजुक बनेको छ।
यता प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले दैवी प्रकोप समितिबाट त्रिपाल, भाँडाकुँडा, खाद्यान्न र अन्य अत्यावश्यक सामग्री वितरण गरिएको जानकारी दिए।
राजदेवी नगरपालिकाका प्रमुख भिखारी यादवले पनि केही राहत सामग्री प्रदान गरिएको बताएका छन् ।
त्यसैगरी स्थानीय व्यवसायीहरुले ग्यास सिलिन्डर, ओढने, र खाद्यान्न सामग्री वितरण गरे पनि दीर्घकालीन पुनस्र्थापनाका लागि ठोस योजना आवश्यक रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख दिलीप घिमिरेले बताएका छन् ।
आगलागीमा घर जलेर पीडित बनेकी इन्दु देवीले आगलागीमा दुई लाख रुपैयाँ जलेको बताउँदै भनिन्, घरमा आगो लागेको थाहा पाएपछि दुई साना छोराहरुलाई निकाल्दै ज्यान मात्र जोगाउन सफल भएको बताइन्।
गौर नगरपालिकाको दमकल, स्थानीयवासी, नेपाल प्रहरी, र सशस्त्र प्रहरीले आगो नियन्त्रणमा ल्याएका थिए।


