कञ्चनपुर जिल्लाको देखतभूली पर्सिया सडकखण्डअन्तर्गतको दोदा नदीमा पक्की पुल निर्माणकार्यले गति लिएको छ ।
ठेक्का सम्झौता भएको नौ वर्षपछि पुल निर्माणकार्य अगाडि बढेको छ । विसं २०७२ पुस २६ गते लुम्बिनी–राजेन्द्र–कुमार–श्रेष्ठ जेभीसँग पुल निर्माणका लागि रू २४ करोड २२ लाख ५७ हजारमा ठेक्का सम्झौता भएको थियो ।
ठेक्का सम्झौताअनुसार निर्माण व्यवसायीले कार्य गर्न नसक्दा पुल निर्माणको काम अलपत्र परेको थियो । पुलका तीनवटा पिलर खडा गरे पनि ‘पाइल टेष्ट’मा फेल हुँदा काम अगाडि बढ्न सकेको थिएन ।
ठेक्का सम्झौताअनुसार जेभीमा आबद्ध राजेन्द्र निर्माण सेवाले काम गर्न नसकेपछि अहिले जेभी पार्टनर कुमार श्रेष्ठले कार्य गरिरहेको छ । पुल निर्माणका लागि पहिला दिएको भुक्तानी रू १२ करोड बैंक धरौटीबाट असुलउपर गरिएको छ । निर्माण कम्पनीले रू १० करोड जतिको कार्य पूरा गरेको सूचना अधिकारी जोशीले बताए । निर्माणअनुसार पहिलो ‘रनिङ बिल’को भुक्तानी दिन काम अगाडि बढाइएको छ । बजेट अभावले भुक्तानी दिन ढिलाइ भइरहेको छ ।
लालझाडी गाउँपालिका र शुक्लाफाँटा नगरपालिकाका बासिन्दाले हिउँदयाममा नदीमा अस्थायी राखिने काठको पुलमा शुःल्क तिरेर तर्दै आएका छन् । वर्षात्का बेला बाढीमा नदी जोखिम मोलेर तर्नुपर्ने स्थानीय बासिन्दाको बाध्यता छ ।


