सरकारले गरेको प्रारम्भिक अध्ययनअनुसार बीपी राजमार्ग पुनर्निर्माणका लागि साढे ९ अर्ब रुपैयाँ लाग्ने देखिएको छ ।
गत असोजमा आएको बाढी र पहिरोले यो राजमार्ग अन्तर्गत भकुण्डेदेखि नेपालथोकसम्म ठाउँठाउँमा क्षति भएको छ । यो राजमार्ग पुनर्निर्माणका लागि कुल ९ अर्ब ६६ करोड रुपैयाँ लागत लाग्ने देखिएको भक्तपुर सडक डिभिजन कार्यालयका प्रमुख सुमन योगेशले बताएका छन् ।
बीपी राजमार्गको कालढुङ्गा चौकी डाँडा खण्डको १२ किलोमिटर सडकमध्ये ८ किलोमिटर खण्डमा पूर्ण रूपमा क्षति पुगेको छ । उक्त सडकमा तीन किसिमका पर्खाल (वाल) लगाउनुपर्ने देखिएको छ । जसमा आरसीसी रिटेनिङ वाल, प्लम वाल, गेभिएन वाल लगाउनुपर्ने अध्ययन टोलीको निष्कर्ष छ ।
यो ८ किलोमिटर सबै खोलाले बगाएको छेउको बाटो हो । आरसीसी वाल खोला आउन सक्ने ठाउँमा लगाउनुपर्ने देखिएको छ । कतै प्लम वाल र कतै गेभिएन वाल लगाउनु पर्ने अध्ययन निष्कर्ष छ ।
अध्ययनले यो खण्डका केही स्थानमा पहिला पुल बनाउनुपर्ने देखाएको थियो । तर पुल बनाउन महँगो पर्ने र पर्खाल लगाउँदा सस्तो पर्ने योगेशको भनाइ छ । योगेशका अनुसार यसअघि इन्टरमिडियट लेनको सडक थियो । जबरजस्ती दुई लेनमा प्रयोगमा ल्याइएको थियो । तर अब भने दुई लेन सडक निर्माण गर्ने तयारी छ ।
अझै भएन बजेटको स्रोत सुनिश्चित
यो सडक खण्ड पुनर्निर्माणको अध्ययन सकिए पनि बजेट व्यवस्थापनको पहल नभएको योगेशले बताए । उनका अनुसार यो खण्ड पुनर्निर्माणका लागि लाग्ने लागत रकमको स्रोत अहिलेसम्म सुनिश्चित हुन सकेको छैन ।
‘नेपाल सरकार आफैँले गर्ने कि जापान सरकारले गर्ने अथवा अरु स्रोत खोज्ने भन्ने टुङ्गो लागेको छैन । निर्माणका लागि बजेटको स्रोत सुनिश्चित नभएसम्म ठेक्का खोल्न सकिँदैन,’ योगेशले भने, ‘ढिला भइसक्यो । अब ठेक्का खोल्दाखेरी वर्षा याम सुरु हुन्छ । वैशाखपछि पानी पर्न सुरु हुने भएकाले निर्माणमा समस्या हुन्छ ।’
सरकारले जति छिटो बजेट व्यवस्थापन गर्छ, त्यति नै चाँडो निर्माण कार्य अघि बढ्ने योगेशको भनाइ छ । ‘स्रोत सुनिश्चितता भयो भने हामी काम सुरु गर्थ्यौँ । अब ढिला भयो भने वर्षाभरि यातायात सञ्चालन नहुन सक्छ,’ उनले भने, ‘हाम्रो लक्ष्य भनेको वर्षा अगाडि पर्खाल नबनाइ नहुने स्थानमा पहिला पर्खाल बनाइहाल्ने हो । त्यो अवस्था रहेमा वर्षामा पनि सवारी चलाउन सकिन्छ ।’
तर पूर्ण रूपमा सडक निर्माण गर्न कम्तीमा पनि दुई वर्ष लाग्ने अध्ययनले देखाएको छ ।


