जिल्लाको गैँडाकोट नगरपालिका–१० र ११ को सीमा भएर बग्ने नारायणी नदीमा बिहीबार डोजर चलाइएको छ ।
नारायणी नदीले वर्षामा बहाव परिवर्तन गरी चितवनतिर बगेर नवलपुर क्षेत्र सुक्खाग्रस्त भएपछि नदीमा डोजर चलाएर पानीको बहाव परिवर्तन गरी नवलपुर ल्याउन लागिएको हो ।
जिल्ला समन्वय समितिको पहलमा गैँडाकोट नगरपालिका, देवचुली नगरपालिका, कावासोती नगरपालिका, चितवन राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय, जिल्ला प्रशासन, जिल्ला प्रहरी, सशस्त्र प्रहरी, पत्रकारलगायतको उपस्थितिमा नारायणीको धार परिवर्तन गर्न लागिएको हो । नारायणीको उत्खनन धेरै हुँदा नदी गहिरिएर दक्षिणी भँगालो (चितवन क्षेत्र) मा पानीको बहाव धेरै हुँदा उत्तरी भँगालो (नवलपुर क्षेत्र) भने हिउँद लागेलगत्तै सुक्खाग्रस्त हुँदै गएको छ । यसका कारण मानिस मरेर जलाएको खरानी बगाउन र दाहसंस्कारपछि नुहाउन तथा सरसफाइ गर्न निकै समस्या परेको स्थानीयले गुनासो गर्ने गरेका छन् ।
“कोही मरेपछि मलामी जाँदा गाली मात्र पाइन्छ, त्यसैले सकेसम्म मलामी नै जान नपरे हुन्थ्यो भन्ने लाग्छ,” गैँडाकोट–११ का वडाध्यक्ष गोविन्दप्रसाद सुवेदीले भन्नुभयो, “मलामी गइहाले पनि म त सहभागी भएर फर्किहाल्छु, नत्र जनप्रतिनिधि भएर नदी सुक्खा हुँदा पनि चुप लागेर बसेको भन्दै स्थानीयले गाली गरेर बस्न टिक्न दिन्नन् ।”
नदीको धार परिवर्तनले घडियाल गोहीको वासस्थान नै लोप हुँदै गएको छ भने गैँडाका लागि आहाल खेल्ने पानीको समेत समस्या भएको संरक्षणकर्मीले बताएका छन् । नारायणीको उत्तरी भँगालो आश्रित भएर नवलपुरका तटीय क्षेत्रमा सञ्चालन भएका पर्यापर्यटनका गतिविधि सँगसँगै नदीमा आश्रित जलचर र थलचर प्राणीलाई समेत यसले गम्भीर असर पार्ने गैँडा संरक्षण समन्वय समिति नवलपुरका अध्यक्ष विष्णु अधिकारीले बताउनुभयो ।


