नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पछिल्लो समयमा विभिन्न प्रलोभनमा पारेर अनलाइन ठगी बढेको भन्दै ठगीबाट बच्न अनुरोध गरेको छ।
सिआइबीका प्रवक्ता, प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले हालैमात्र पोखरामा ५७ लाख, चितवनमा १६ लाख, नेपाल सरकारका कर्मचारीहरुको ५ लाख ५० हजार, विभिन्न कम्पनी तथा सर्वसाधारणहरुको करोडौँ रकम ठगी भएको र उक्त विषयमा अनुसन्धान भइरहेको जानकारी दिँदै त्यस्ता लोभमा नफस्न अनुरोध गरेका छन्।
आज सिआइबीले सात बुँदामा विज्ञप्ति जारी गर्दै केही दिन यता सामाजिक सञ्जालहरु जस्तै फेसबुक, इन्टाग्राम, टेलिग्राम, ह्वाट्सएप, म्यासेन्जर, भाइबर तथा इमोलगायतबाट फोन गरी डिजटिल वालेट तथा बैंक÷वित्तीय संस्थाबाट बोलेको भनी विभिन्न अपरिचित नम्बरहरुबाट फोन गरी वा म्यासेज गरी नेपाल सरकारका कर्मचारीहरु तथा आम सर्वसाधारणहरुलाई समेत धोकापूर्ण तरिकाले प्रलोभनमा पारी ठगी गर्ने गरिएको पाइएको जानकारी गरेको छ।
यस्ता घटनाहरुप्रति गम्भीर ध्यानाकर्षण भएको सिआइबीले जनाएको छ। त्यस्ता ठगीबाट बच्न अनुरोध गर्दै सिआइबीले विभिन्न सातबुँदे ध्यानाकर्षण पनि सार्वजनिक गरेको छ।
यस्ता छन् सात बुँदा
सिआइबिले इसेवा खल्ती जस्ता वालेट, बैंक तथा वित्तीय संस्थाहरुको लोगोसमेत प्रयोग गरी धोकापूर्ण तरिकाले सम्बन्धित संस्थाको आधिकारिक व्यक्ति भनी कल गर्ने तथा पटक–पटक गलत पासवर्ड राखेर वालेट अल्पकालीन बन्द गर्ने, त्यही समय वालेट प्रयोगकर्तालाई कल गरी तपाईंको यसमा समस्या आएको छ म सेवा प्रदायक कम्पनीबाट बोलेको भनी ओटीपी माग गर्नेहरुसँग सावधानी हुन अनुरोध गरेको छ।




