असोज दोस्रो साता आएको बाढीपहिरोका कारण बिपी राजमार्ग क्षतिग्रस्त भएको तीन महिना पूरा हुँदा पनि पुनर्निर्माणका लागि अहिलेसम्म सम्बन्धित निकायको ध्यान जान सकेको छैन भने सडक निर्माणमा अन्योल देखिएको छ ।
क्षतिग्रस्त राजमार्ग अस्थायी रूपमा सञ्चालन भएको महिनौँ हुँदासम्म यसको दिगो पुनर्निर्माणको प्रक्रिया सुरु नहुँदा आगामी वर्षायाममा पनि यात्रुले सास्ती पाउने हुन् कि भन्ने चिन्ता सुरु भएको छ । बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्ग कसले निर्माण गर्ने भन्ने विषय यकिन हुन सकेको छैन ।
राजमार्ग पुनर्निर्माणका लागि कोहीले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) लाई अनुरोध गर्नु पर्छ र कोहीले असर नपर्ने अन्य केही योजनालाई दुई वर्षका लागि अगाडि नबढाई सरकार आफैँले पुनर्निर्माणको काम गर्नुपर्ने सुझाव दिएका छन् । सडक डिभिजन कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) सुमन योगेशले यो राजमार्ग पुनर्निर्माण गर्न कुनै प्रक्रिया अघि नबढेको बताउनुभयो । उहाँले क्षतिग्रस्त राजमार्ग पुनर्निर्माणका लागि कार्यालयले सर्भे र डिजाइनको काम सम्पन्न गरिसके अन्य काम सुरु गर्न ढिला भइसकेको बताउनुभयो ।
प्रक्रिया नै सुरु भएन
बाढीपहिरो गएको तीन महिना सात दिन पूरा भएको छ । सडक डिभिजन कार्यालयले प्रारम्भिक बजेट व्यवस्थापनका लागि सडक विभाग, अर्थ मन्त्रालयसँग अनुरोध गरेकोमा अहिलेसम्म पुनर्निर्माणका लागि बजेट व्यवस्थापन हुन सकेको छैन । अर्थ मन्त्रालयले राष्ट्रिय विपत् व्यवस्थापन प्राधिकरणसँग समन्वय गरेर बजेटबारेमा छलफल अघि बढाएको जानकारी दिएको छ ।


