मंसिर अन्तिम साता मौसमी अवस्था र प्रणालीको बारेमा भविष्यवाणी गर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाको वेबसाइट ह्याक भयो ।
https://mfd.gov.np/नामको उक्त डोमेन तीन साता भइसक्दा पनि फिर्ता आएको छैन । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत रहेको महाशाखाको उक्त डोमेनमार्फत् उपलब्ध हुने सूचना अहिले विभागको https://dhm.gov.np/ डोमेनमार्फत् दिन थालिएको छ । ह्याक भएको वेबसाइटका सबै डेटाको ब्याकअप पनि सोही वेबसाइटमा ‘इन्ट्रिगेटेड’ गरिएको छ ।
त्यस्तै, केही दिनअघि संघीय मामिला मन्त्रालयको वेबसाइट पनि ह्याक भयो । https://mofaga.gov.np/ डोमेनको उक्त वेबसाइटलाई ह्याकरले ‘फर सेल’ भनेर राखेको पाइएको थियो । करिब तीन दिनको प्रयासपछि उक्त डोमेन फिर्ता ल्याइएको थियो ।
सरकारी वेबसाइटमाथि भएको साइबर आक्रमणका पछिल्ला उदाहरण हुन् यी । पछिल्लो समयमा सरकारी वेबसाइटमा एकपछि अर्को समस्या भएका घटना बाहिरिएका छन् ।
दुई महिनाअघि मात्रै प्राविधिक समस्या आएको भन्दै राहदानी छपाइको काम बन्द भएको थियो । यद्यपि यो कस्तो प्रकारको समस्या थियो भनेर विभागले केही उल्लेख गरेको थिएन ।
सार्वजनिक संस्थानदेखि निजी क्षेत्रका वेबसाइट ह्याकका घटना कम छैनन् । वित्तीय क्षेत्रमा पनि यस्ता घटना हुने गरे पनि कमैमात्र सार्वजनिक हुने गरेका छन् । अघिल्लो वर्ष माघमा त्रिभुवन विश्वविद्यालयले नतिजा सार्वजनिक गर्दै आएको https://tuexam.gov.np/डोमेनको वेबसाइट कक्षा १२ मा अध्ययनरत एक विद्यार्थीले ह्याक गरेका थिए । पछि उनले वेबसाइटको सुरक्षामा भएको कमजोरी देखाउन ह्याक गरेको भन्दै त्यसलाई सकुशल फिर्ता गरेका थिए ।
त्यस्तै, केही समयअघि भुक्तानी सेवा सञ्चालक कम्पनी एफवान सफ्टले आफैँले बनाएको सिस्टमबाट सिटिजन्स बैंकको सोही कम्पनीको नाममा रहेको खाताबाट तीन करोड रुपैयाँ चोरी भएको घटना सार्वजनिक भएको छ । यो घटनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको जनाएको छ ।
पछिल्लोपटक भएका साइबर आक्रमणमध्ये एउटा सुरक्षा कमजोरी र अर्को प्रयोगकर्ताको असावधानीका कारण भएका हुन् । जल तथा मौसम पूर्वानुमान महाशाखाको वेबसाइट सुरक्षा कमजोरीले ह्याक भएको हो भने संघीय मामिला मन्त्रालयको वेबसाइट प्रयोगकर्ताको असावधानीका कारणले ।
वेबसाइट ह्याक हुनुअघि नै महाशाखाको वेबसाइटलाई विभागकै वेबसाइटमा माइग्रेट गर्ने तयारी गरेको थियो । उक्त तयारी अन्तिम चरणमा रहेको बेला ह्याक भएको विभागका सूचना अधिकारी दिनकर कायस्थ बताउँछन् । पुरानो वेबसाइटको कुनै पनि सूचना गोप्य खालको नभएको र आवश्यक डेटा माइग्रेट गरिसकिएकाले ह्याक भएर पनि कुनै नोक्सानी नभएको कायस्थको भनाइ छ ।
‘ह्याक भएको वेबसाइटमा कुनै गोप्य खालको डेटा थिएनन्, वेबसाइटमा सार्वजनिक गरिएका सूचना मात्रै थिए, ती पनि सबैजसो विभागको वेबसाइटमा माइग्रेट भइसकेका थिए । त्यसैले यो वेबसाइट ह्याक भएर कुनै नोक्सान भएन,’ कायस्थले भने, ‘अहिले त्यो वेबसाइटको डेटा पनि नयाँ वेबसाइटबाटै हेर्न सकिन्छ । त्यो डोमेन हामीले बन्द गर्न लागेका थियौँ । त्यसैले फिर्ता ल्याउन धेरै प्रयास नगरेकाले अहिलेसम्म फिर्ता नआएको हो ।’
पछिल्लो समय प्रहरीको साइबर ब्युरो, केन्द्रीय अनुसन्धान ब्युरो लगायतले साइबर ठगीबाट बच्न सचेतनामूलक सूचना जारी गर्दै आएका छन् ।
बन्द गर्न लागिएकाले वेबसाइटको सुरक्षामा धेरै ध्यान नदिँदा साइबर आक्रमणमा परेको हुनसक्ने उनको भनाइ छ ।


