कास्कीको पोखरा महानगरपालिका वडा २५ मा रहेको तीव्रेकोट सामुदायिक वन लाटोकोसेरो संरक्षण विशेष क्षेत्र बनेको छ ।
एकसय दशमल ७४ हेक्टरमा रहेको वनलाई उपभोक्ताको भेलाले विशेष क्षेत्र बनाउने निर्णय गरेको हो । लाटोकोसेरो संरक्षणमा सक्रिय प्रकृतिका साथीहरुको आयोजनामा भएको लाटोकोसेरो संरक्षण विशेष शिविरमा भएको उपभोक्ताको भेलाले यस्तो निर्णय गरेको छ । तीव्रेकोट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विशालजङ्ग कुँवरले भेलाले विशेष क्षेत्र बनाउने निर्णय लिएको जानकारी दिनुभयो ।
पोखरा महानगर पालिका वडा २५ का वडाध्यक्ष मोतिलाल तिम्सिनाले लाटोकोसेरो संरक्षण गर्न स्थानीय सरकारको साथ रहने प्रतिवद्धता गर्नुभयो । वनका उपभोक्ताले नै वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा गर्नु प्रशंसनीय कार्य भएको डिभिजन वन कार्यालय कास्कीका प्रमुख कोमलराज काफ्लेको भनाइ छ ।
प्रकृतिका साथीहरुका कार्यकारी निर्देशक राजु आचार्यले वन उपभोक्ता समूहसँग सहकार्य गरी अघि बढ्ने वाचा गर्नुभयो । समुदायबाट नै यस्ता अभियान थालिनु उल्लेखनीय रहेको उहाँले बताउनुभयो ।
प्रकृतिका साथीहरुले गण्डकी प्रदेशमा लाटोकोसेरोको अवैध व्यापार, चोरीसिकार नियन्त्रणका लागि तालिम, जनचेतनामूलक कार्यक्रम गर्दैआएको छ । गत वर्ष लाटोकोसेरोका एकसय वटा कृत्रिम गुँड राखिसकेको आचार्यले जानकारी दिनुभयो ।


