२२ पुस, काठमाडौं । एफवान सफ्टको सिस्टम ह्याक गरेर सिटिजन्स बैंकको खातामा रहेको साढे तीन करोड रूपैयाँभन्दा रकम चोरी प्रकरणमा ह्याकरले टेलिग्राममार्फत नेपालीहरुसँग नेक्सस बनाएको खुलेको छ ।
सामाजिक सञ्जाल टेलिग्राममा ‘जब अफर’ देखाएर नेपाली युवामाझ जोडिएर रकम चोरी गरेको खुलेको हो । टेलिग्राममा जब आवश्यक रहेको आशयको लिंक पठाउने र उक्त लिंक क्लिक गरेपछि ती व्यक्तिहरुसँग पहुँच पुर्याएर बैंक खाता खोल्न लगाइएको प्रहरीको केन्द्रीय साइबर ब्यूरोको अनुसन्धानबाट खुलेको छ ।
टेलिग्राममार्फत नेपाली युवाहरुमाझ जोडिएपछि ह्याकरको समूहले विभिन्न प्रलोभन देखाएर उनीहरुलाई प्रयोग गरेको देखिएको छ । ‘फ्रि अनलाइन जब, घरमै बसी-बसी पैसा कमाउनुहोस् । आर यु इन्ट्रेस्टेड इन दिस जब ?’ जस्ता म्यासेज पठाएर नेपालीहरुलाई ह्याकरको समूहले प्रलोभनमा पारेको देखिएको ब्यूरोका एसपी तथा प्रवक्ता दीपकराज अवस्थीले बताएका छन् ।
बेरोजगार युवायुवतीहरु घरमै बसेर पैसा कमाउने अनलाइन जब भनेपछि प्रलोभनमा परेको र ह्याकरले भनेअनुसार काम गर्न मन्जुर भएको प्रहरीको भनाइ छ ।
प्रहरीले भनेजस्तै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ घर भएका २१ वर्षीय कृष्ण रमण राउत टेलिग्राममा आएको जब अफरमार्फत् ह्याकरको समूहमा जोडिएका थिए ।
‘म तिमीलाई बिना लगानी घरमै बसेर पैसा कमाउने उपाय सिकाउँछु । तिम्रो काम भनेको बिहान ८ बजेदेखि बेलुका ९ बजेसम्म अनलाइन बस्नुपर्छ । तिमीले दैनिक रुपमा तलब पाउँछौं । तिम्रो कामको कारोबारको आधारमा कसिमन पाउँछौं’ ह्याकरको समूहबाट यस्तो प्रकृतिको म्यासेज आएको पक्राउ परेका राउतले प्रहरी समक्ष बताएका छन् ।
त्यसपछि बैंकको खाता मागेपछि आफूले उपलब्ध गराएको उनको भनाइ छ । राउतले उपलब्ध गराएको खातामा लगत्तै ३ लाख जम्मा भएको थियो । त्यसपछि ह्याकरको समूहले अर्को बैंक खाताको क्युआर कोड राउतलाई पठाई उक्त रकम क्युआरमार्फत ट्रान्सफर गर्न लगाएका थिए ।
राउतले ह्याकरले उपलब्ध गराएको लक्ष्मी बैंकको दुई वटा खातामा २ लाख र ९४ हजार पठाएको समेत भेटिएको ब्यूरोका एसपी अवस्थी बताउँछन् । बाँकी चार हजार भने राउतको खाता प्रयोग गरेबापत ह्याकरको समूहले उनलाई कमिसन दिएको देखिएको उनको भनाइ छ ।
सिटिजन्स बैंकको सफ्टवेयर पनि एफवान सफ्टले नै निर्माण गरेको थियो । त्यसपछि एफवान सफ्टले नै सिटिजन्स बैंकको दरबारमार्गस्थित शाखामा खाता खोलेको थियो ।
उक्त सफ्टवेयर ह्याक गरेर एफ वान सफ्टकै खाताबाट तीन करोड ५१ लाख ५० हजार ३७० रुपैयाँ चोरी भएको हो । जम्मा चार दिनकै समयमा १ अक्टोबर २०२४ देखि ४ अक्टोबर २०२४ सम्म पटक-पटक ह्याक गरेर एफ वान सफ्टको खाताको रकम निकालिएको थियो ।


