तराई–मधेशका अधिकांश स्थानमा एक सातादेखि तातो हावा तथा लु (हिट वेभ) चलिरहेको छ । तराई–मधेशका अधिकांश भागमा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । धेरै गर्मीका कारण जनजीवन प्रभावित भएको छ । दिउँसो त घरबाहिर निस्किनै नसकिने अवस्था छ ।
अत्यधिक गर्मीले विगत केही दिनदेखि दैनिक ज्यालादारी गर्ने मजदुरहरूको जनजीवन कष्टकर बनेको छ । जीविकोपार्जनको माध्यम दैनिक ज्यालादारी मात्रै हुने मजदुरलाई उखरमाउलो गर्मीमा काम गर्न निकै कठिन भएको बर्दीबास–३ का दुर्गा परियारको भनाइ छ । “बढ्दो गर्मीले होला मलाई एकदमै चक्कर आउला जस्तो हुन्छ तर यो काम नगरी सुखै छैन । मैले काम गर्नै पर्छ,” घर निर्माणको काम गर्दै उहाँले भन्नुभयो । गर्मी बढ्दै गएको भए पनि उहाँ जस्तै महिला कामदारहरू काममा व्यस्त छन् ।
तराईका धेरै क्षेत्रमा सरकारी कार्यालयका काममा जान पनि कठिन भएको सेवाग्राही बताउँछन् । सहरी क्षेत्रमा मानिसहरूको चहलपहल निकै कम देखिन्छ । विद्यालय जाने नानीबाबुहरूलाई पनि समस्या भएको छ । यता सरकारी विद्यालयका शिक्षकहरू आन्दोलनमा गएकाले विद्यार्थीहरू दिनभरि घाममा डुलेर खेलेर बिताउने गरेका छन् ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कबारीले अत्यधिक गर्मी बढेकाले पालिकाहरूसँग समन्वय गरेर विद्यालय बिदाका लागि छलफल भइरहेको बताउनुभयो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार भैरहवादेखि पूर्वसप्तरीसम्म तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ । मधेश प्रदेशका आठ वटै जिल्लाको सरदर तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । अपराह्न ४२ डिग्री सेल्सियससम्म पुग्ने तापव्रmमले सहरी क्षेत्रमा चहलपहल पातलिएको छ । मनसुनी वर्षा सुरु नहुँदासम्म अत्यधिक गर्मी कायम रहने जोखिम रहेको विभागले जनाएको छ । मौसम विज्ञान विभागका अनुसार अहिलेको प्रणाली हेर्दा मनसुनी वर्षा सुरु हुन्छ भन्ने अवस्था छैन ।


