काठमाडौं , असोज २७
हमासको हमलापछि इजरायलबाट अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले बताएका छन्।विपिन जोशी विद्यार्थी भिसामा इजरायल पुगेका थिए। हमासको आक्रमणका बेला उनी किबुत्ज अलुमिममा रहेका बेला सम्पर्कविहीन भएका थिए।
राजदूत पण्डितका अनुसार आइतबार नेपाली समय अनुसार साँझ करिब साढे ७:३० बजे इजरायली डिफेन्स फोर्सकी महिला कर्मचारीले दूतावासमा फोन गरेर विपिन जोशी जीवित नरहेको जानकारी गराएकी थिइन्।
ती अधिकारीले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका विपिनका दाजु किशोर र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरुलाई भिडियो कन्फरेन्समा जोडेर विपिन जीवित नरहेको औपचारिक जानकारी दिएको हुन् ।
पण्डितका अनुसार यसबारे थप विवरण इजरायली पक्षसँग समन्वय गरेर लिइँदैछ। उनले भने, ‘हामी घटनाका सबै विवरण आधिकारिक रूपमा सुनिश्चित गर्न इजरायली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छौं।’



