कपिलवस्तु, भदौ ६ गते । हरिया सालका रुख धमाधम काटिन्छन् । बँचेका रुखमा सेता घेरा लगाइने गरिएको छ । हुर्कदै गरेका रुख पनि काटिएका छन् । तराईका वनमा यस्ता दृश्य देख्दा वन विनास बढेको हो कि जस्तो लाग्छ ।
तर वन विनास भने होइन । यो त सालका रुख काट्नु वन विनाश नभई नयाँ पुस्ताका रुख उत्पादन गर्ने ‘वन सम्वर्धन प्रणाली’ को एउटा चरण हो भनिन्छ । नेपालमा वन संरक्षण गर्ने परम्परागत शैली क्रमशः फेरिँदै गएको छ । खेतबारीमा बाली लगाएजस्तै वनमा पनि रुख लगाउने, हुर्काउने, आवश्यकताअनुसार गोडमेल गर्ने, कमजोर तथा उत्पादन दिन नसक्ने रुख हटाउने र परिपक्व भएपछि कटान गरी त्यसको ठाउँमा नयाँ बिरुवा हुर्काउने अभ्यास सुरु भएको छ ।
यसअघि वन व्यवस्थापनमा ‘वार्षिक स्वीकृत कटान’ लाई मुख्य आधार मानिन्थ्यो । जसमा ढलापडा र सुकेका रुख मात्र काटिने गरिन्थ्यो । अहिले वनको अवस्था, रुखको उमेर, वृद्धि र उत्पादन क्षमताका आधारमा वन व्यवस्थापन गर्ने वन सम्वर्धन प्रणाली विस्तार हुँदैगएको छ । यसले परिपक्व रुखबाट काठ उत्पादन गर्ने र त्यसको ठाउँमा नयाँ पुस्ताका रुख हुर्काउने चक्रलाई निरन्तरता दिन्छ ।
वि.सं. २०६८ देखि कपिलवस्तुको तिलौराकोट साझेदारी वनबाट यो प्रणाली प्रयोगमा ल्याइएको थियो । अहिले लुम्बिनी प्रदेशका पाँचसय ५९ सामुदायिक वन छन् । ८ साझेदारी वन र ४ चक्ला वन गरी १ लाख ६१ हजार हेक्टरभन्दा बढी क्षेत्रमा यो प्रणाली लागू भएको छ । अन्य प्रदेशमा पनि आवश्यक कार्यविधि निर्माण गरी यसको विस्तार भइरहेको छ ।
८० वर्षपछि काटिन्छ साल
वन विज्ञहरूका अनुसार सालको रुख सामान्यतः ८० देखि १०० वर्षको उमेरमा परिपक्व हुन्छ । सिसौ, खयर र टिकजस्ता प्रजाति भने करिब ४० वर्षमा परिपक्व हुने गर्छन् । परिपक्व अवस्थामा पुगेका रुखबाट गुणस्तरीय काठ प्राप्त हुने भएकाले निश्चित उमेरपछि कटान गरिन्छ ।
त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक राजेश राईका अनुसार परिपक्व भएपछि रुखलाई लामो समयसम्म नहटाउँदा यसको वृद्धि सुस्त हुँदै जान्छ । गाभा कुहिने र कार्बन सञ्चित गर्ने क्षमतामा समेत कमी आउन सक्छ ।
लुम्बिनी प्रदेश वन निर्देशनालयका महानिर्देशक ईश्वरीप्रसाद पौडेलका अनुसार वन सम्वर्धन प्रणालीको मुख्य उद्देश्य वन संरक्षण र उत्पादनलाई सँगसँगै अघि बढाउनु हो । परिपक्व रुख हटाएर नयाँ बिरुवा हुर्किन पर्याप्त स्थान, घाम र पानी उपलब्ध गराइन्छ ।
यसले वनको पुनरुत्पादनलाई तीव्र बनाउनुका साथै गुणस्तरीय रुख उत्पादनमा सहयोग गर्छ । साल वनमा प्रायः इरेगुलर सेल्टरहुड प्रणाली लागू गरिन्छ । यसअन्तर्गत बढीमा ५०० हेक्टर वन क्षेत्रलाई एउटा कम्पार्टमा विभाजन गरिन्छ । त्यसलाई थप आठवटा सब–कम्पार्टमा बाँडेर चरणबद्ध रूपमा व्यवस्थापन गरिन्छ ।

एउटा सब–कम्पार्ट छनोट गरी त्यहाँ १० वर्षसम्म क्रमशः कटान र पुनरुत्पादनको काम गरिन्छ । कटानपछि नयाँ बिरुवा उत्पादन र हुर्काउन तार जालीबाट संरक्षण गरिन्छ । त्यसपछि अर्को सब–कम्पार्टमा व्यवस्थापनको काम अघि बढाइन्छ । यसरी एउटा क्षेत्रमा परिपक्व रुख कटान भइरहँदा अर्को क्षेत्रमा नयाँ पुस्ताका रुख हुर्किरहेका हुन्छन् ।
तिलौराकोट साझेदारी वनका अध्यक्ष जयप्रकाश पाण्डेका अनुसार हरेक १० वर्षमा सब–कम्पार्ट परिवर्तन गर्दै वन व्यवस्थापन गरिन्छ । यसबाट वनमा विभिन्न उमेर समूहका रुख उत्पादन हुने वातावरण बन्छ । परिपक्व रुख मात्र कटान गरिँदैन । वनभित्र अत्यधिक बाक्लो भएका, टुप्पो काटिएका, वृद्धिदर कम भएका तथा कमजोर बिरुवालाई समेत गोडमेल र सुधार कटान गरिन्छ ।
यससँगै सुकेका, रोगग्रस्त, ढलेका तथा वृद्धि रोकिएका रुख हटाएर स्वस्थ रुखका लागि आवश्यक स्थान बनाइन्छ । यसले बाँकी रुखको वृद्धि र गुणस्तर सुधार गर्न सहयोग गर्ने वन प्राविधिकको भनाइ छ ।
वन प्राविधिक दिलीप यादवका अनुसार वन सम्वर्धन प्रणालीअन्तर्गत प्रतिहेक्टर ३ देखि ४ हजार लाथ्रा (१०–१५ सेन्टिमिटर व्यास), १ हजारदेखि १ हजार ५०० पोल (१५–३० सेन्टिमिटर व्यास) र २०० देखि ३७५ वटासम्म रुख (३० सेन्टिमिटरभन्दा बढी व्यास) उत्पादन हुने गर्छ ।
वन सम्वर्धन प्रणालीको मूल उद्देश्य रुख काट्नु मात्र होइन, वनको उत्पादनशीलता कायम राख्दै नयाँ पुस्ताका रुख उत्पादन गर्नु हो । परिपक्व रुखबाट काठ उत्पादन गर्ने, कमजोर रुख हटाउने, नयाँ बिरुवा हुर्काउने र निश्चित चक्रमा पुनः व्यवस्थापन गर्ने प्रक्रियाले वनलाई निरन्तर उत्पादन दिने स्रोतका रूपमा विकास गर्न सकिने वैज्ञानिक वन महासङ्घकी केन्द्रीय अध्यक्ष रेणु सेनले बताउनुभयो ।


