काठमाडौँ, भदौ ९ गते । दस वर्षभन्दा कम उमेरका साना बालिका जबरजस्ती करणीको निसानामा पर्न थालेको देखिएको छ । पछिल्लो उदाहरण बाराकी तीन वर्षीय दुधे बालिकाको जबरजस्ती करणीपछि निर्मम हत्या गरिएको अवस्थामा भदौ २ गते फेला परेको घटना हो ।
बालिकालाई जबरजस्ती करणी र त्यसपछि हत्या गरेको विषयलाई निकै गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख नरेन्द्र कुँवरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बालिकाको शव झन्डै गल्न लागेको अवस्थामा फेला परेको थियो, त्यसपछि अहिलेसम्म नौ जना उक्त घटनाको आरोपमा पक्राउ परेका छन्, हामी अनुसन्धानमै छौँ ।” एकपछि अर्को गर्र्दै नौ जना पक्राउ परेका हुन् ।
सरकारसँग बालिकाका परिवारले कानुनमा रहेको सजायको व्यवस्थालाई कडा बनाउन माग गरेको छ । जस अनुसार कानुनमा विद्यमान कसुर र सजायसम्बन्धी व्यवस्थाको पुनरवलोकन गर्दै सरकारले कानुन बनाउन सुझावसहितको प्रतिवेदन तयार गर्दै छ । जसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सात सदस्यीय न्याय सङ्कल्प समिति गठन गर्दै काम अघि बढाएको छ ।
जबरजस्ती करणीको शृङ्खला
साना बालिकाको जबरजस्ती करणीपछि हत्या भएको यो पहिलो पटक भने होइन । गत आर्थिक वर्षमा पनि यसै गरी बालिकासहित चार जनाको जबरजस्ती करणीपछि हत्या भएको थियो । नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयको तथ्य अनुसार गत वर्ष १० वर्ष उमेरमुनिका एक बालिका, १० देखि १४ वर्ष उमेर समूहका दुई बालिका र १९ देखि २५ वर्ष उमेर समूहका एक युवतीको जबरजस्ती करणीपछि हत्या भएको थियो । अघिल्लो आव २०८१/८२ मा १० वर्ष उमेरमुनिका दुई जनासहित पाँच जनाको जबरजस्ती करणीपछि हत्या भएको थियो । जसमा ११ देखि १४ वर्ष उमेर समूहका दुई जना र त्यसमाथिका एक युवतीको करणीपछि हत्या भएको प्रहरीको तथ्य छ ।
साना बालिकामाथि जबरजस्ती करणीका घटनाको आँकडा बढ्दै गएको तथ्यले देखाउँछ । गत असारमै पाँच बालिकामाथि जबरजस्ती करणी भएको मुद्दा दर्ता भएको छ । जसमा दुई जना ११ वर्ष, दुई जना १३ वर्ष र एक जना १५ वर्षकी बालिका जबरजस्ती करणीमा परेका थिए । विगत पाँच वर्षको आँकडा केलाउँदा बालिका, युवती र प्रौढ महिलासहित २१ हजार ५०२ जनामाथि जबरजस्ती करणीलगायत लैङ्गिक हिंसाका घटना भएका छन् ।
जबरजस्ती करणीको ग्राफले साना बालिका पीडकको बढी निसानामा पर्न थालेको औँल्याउँछ । २०७७ देखि २०८१ सालसम्मको आँकडा हेर्दा हरेक वर्ष जसो साना बालबालिका पीडकको आव्रmमणमा परेको देखिन्छ । जस अनुसार २०८१ सालमा ३७६ बालिका निसानामा परेका थिए । अघिल्लो वर्ष २०८० सालमा ३५१, २०७९ सालमा ३७५, २०७८ सालमा ४२२ र २०७७ सालमा ४६४ जना १० वर्षमुनिका बालिका जबरजस्ती करणीको सिकार बनेका थिए । त्यसभन्दा अघिका तीन वर्षको एकमुस्ट आँकडाले एक हजार २७० जना १० वर्षमुनिका बालिका जबरजस्ती करणीको सिकार बनेको औँल्याउँछ । उक्त तीन वर्षमा ११ जना १६ वर्षमुनिका बालिकाको करणीपछि हत्या भएको थियो ।
कारण कानुनी अज्ञानता
यसरी बारम्बार साना बालिका जबरजस्ती करणीकर्ताको निसानामा पर्नुमा कानुनको अज्ञानता र डिजिटल दुनियाँको दुष्प्रभाव कारक रहेको टिप्पणी विज्ञहरू गर्छन् ।
दुधे बालिकामाथि करणीको गिद्धे नजर गढ्नु भनेको समाजमा असंवेदनशीलता र दण्डहीनता बढेको सङ्केत भएको राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली औँल्याउनुहुन्छ । उहाँले भन्नुभयो, “समुदाय, परिवार, सरकार हामी सबै जवाफदेही हुन सकेनौँ भन्ने पछिल्लो उदाहरण बाराकी तीन वर्षीय बालिकाको जबरजस्ती करणी र हत्या हो ।”
जबरजस्ती करणीलाई सामान्य घटनाका रूपमा लिने कानुनी प्रवृत्तिले पनि पीडकको मनोबल बढ्दै गएको हुन सक्ने अनुमान उहाँ लगाउनुहुन्छ । त्यसमाथि आधुनिक डिजिटल दुनियाँमा कुन उमेर समूहले के हेर्ने र नहेर्ने भन्ने नियमनमा आएको कठिनाइ अर्को कारक रहेको दाबी उहाँ गर्नुहुन्छ ।
वरिष्ठ अधिवक्ता फूलमाया रानाभाट भने ‘कानुनको अज्ञानता क्षम्य हुन्न’ भन्ने प्राथमिक सिद्धान्तको ज्ञान नागरिकमाझ नपुग्नुले साना बालिकामा करणीका घटना बढेको दाबी गर्नुहुन्छ । उहाँले भन्नुभयो, “त्यसका लागि जिम्मेवार सबै निकायको बेवास्ताले हरेक घरमा पछिल्लो समय छोरी जोगाउन गाह्रो भइरहेको छ ।” कानुनले के भनेको छ, के गर्न हुन्छ र के गर्न हुन्न भन्ने कुराको संस्कार हस्तान्तरण समाजमा हुन नसकेको रानाभाटको भनाइ छ । उहाँले थप्नुभयो, “पहिले विद्यालयमा नैतिक शिक्षा पढाइन्थ्यो, अहिले छैन, आमाबुवा र छोराछोरी सबै मोबाइलमा व्यस्त भए, सिकाउने निकायको ध्यान पुगेकै छैन ।”
समाजलाई सही मार्गमा डो-याउन नेपालको संविधान, फौजदारी र देवानी कानुनले भनेका कुरा जिल्लास्थित बार एसोसिएसनमार्फत कानुन मन्त्रालयले घर घरमा पु-याउने वातावरण मिलाउनुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।चाँदनी हमाल


