काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवा र नुवाकोटमा रहेका जलविद्युत् आयोजनामा कार्यरत ५ सय ३७ जना कर्मचारी तथा श्रमिक अझै सम्पर्कविहीन रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले जनाएको छ।
इप्पानका अनुसार बाढीपछि नौ वटा जलविद्युत् आयोजनामा कार्यरत ८ सय ९८ जना सम्पर्कविहीन भएका थिए। तीमध्ये ३ सय ६१ जनाको उद्धार भइसकेको छ।
सबैभन्दा बढी माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका कर्मचारी तथा श्रमिक प्रभावित भएका छन्। २ सय १६ मेगावाट क्षमताको उक्त आयोजनाबाट ५ सय ७६ जना सम्पर्कविहीन भएकामा २ सय ५४ जनाको उद्धार गरिएको छ। आयोजनाको सुरुङभित्र अझै करिब ३ सय जना श्रमिक तथा कर्मचारी फसेको बताइएको छ। उनीहरूको खोजी तथा उद्धारका लागि सुरुङमार्गमा खोजी कार्य जारी छ।
त्यस्तै, १ सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाबाट ९३ जना अझै सम्पर्कविहीन छन्। रसुवा भोटेकोशी जलविद्युत् आयोजनाबाट चार जना र लाङ्टाङ खोला जलविद्युत् आयोजनाबाट ४२ जना सम्पर्कविहीन भएकामा १८ जनाको उद्धार भइसकेको इप्पानले जनाएको छ।
चिलिमे हाइड्रोपावरबाट आठ, मैलुङ खोला हाइड्रोपावरबाट सात, त्रिशूली जलविद्युत् आयोजनाबाट एक, देवीघाट जलविद्युत् आयोजनाबाट एक तथा माथिल्लो त्रिशूली–३ ‘ए’ बाट ४२ जना सम्पर्कविहीन रहेको जनाइएको छ।
यसैगरी, माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाबाट १ सय २२ जना सम्पर्कविहीन भएकामा ९१ जनाको जीवितै उद्धार गरिएको छ। मिडल त्रिशूली गङ्गा जलविद्युत् आयोजनाबाट दुई जना अझै सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ।
बाढीका कारण प्रभावित जलविद्युत् आयोजनामा फसेका तथा सम्पर्कविहीन कर्मचारी र श्रमिकको खोजी तथा उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ।


