भाद्र २५, काठमाडौँ
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले श्रम आप्रवासन सम्बन्धी समस्या सम्बोधन गर्न विदेशस्थित नेपाली कुटनीतिक नियोगका प्रमुखहरूसँग अन्तरक्रिया गरेका छन् । सोमबार र मंगलबार गरी २ दिनका लागि आयोजना गरिएको अन्तरक्रियामा १३ देशमा क्रियाशील कुटनीतिक नियोगका प्रमुखहरू उपस्थित थिए । अन्तरक्रियामा कुटनीतिज्ञहरूले अन्तर्राष्ट्रिय श्रम बजारसँग सम्बन्धित समस्या र त्यसको सम्बोधनका विषयमा छलफल भएको छ ।
कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले श्रम आप्रवासनमन सवालहरू र कुटनीतिक नियोगको भूमिका विषयमा संक्षिप्त जानकारी गराएका छन् । भण्डारीले प्रस्तुत गरेको अवधारणा पत्रमा श्रम बजार र आप्रवासन सम्बन्धी वर्तमान अवस्था, विप्रेषण र यसको सघन उपस्थिति, द्विपक्षीय श्रम सम्झौता र समझदारी, वैदेशिक रोजगार सम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिबारे, राहत, उद्दार र कल्याणकारी कार्यहरूको सञ्चालन, कानुन प्रतिरक्षाको अवस्था, श्रम सम्बन्ध, आश्रयस्थल, स्थानीय कर्मचारी व्यवस्था, संस्थागत व्यवस्था र श्रम सहचारीको अवस्था, दक्षिण कोरियाको इ–७ भिसा विशेष, जापानको निर्दिष्ट सीपयुक्त कामदार सम्बन्धी अवस्था, अभिलेख नभएका श्रम आप्रवासीहरूको अभिलेखन गर्ने सम्बन्धमा, घरेलु कामदार सम्बन्धी सवाल, सरकार सरकारबीच सम्झौताबाट श्रमिक आपूर्ति, सामाजिक सुरक्षा कोषमा आवद्धता सम्बन्धमा, विशिष्टिकृत श्रम, सीप, तालिम र भाषा विशेषको परीक्षणबारे, परामर्शदाताको अधिकतम सेवा शुल्क सम्बन्धमा, विप्रेषण आप्रवाहलाई औपचारिक माध्यमबाट देश भित्राउने सम्बन्धमा, शैक्षिक परामर्श र ट्राभल एजेन्सीबाट अनेक स्वरूपमा विदेसिने समस्याबारे, नयाँ श्रम गन्तव्य र श्रम बजारको सम्भावना बारे, अपेक्षित उपलब्धी र परिणाम लगायतका विषयहरू समेटेका छन् ।
कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी, परराष्ट्रमन्त्री नारायण प्रकाश (एन.पी.) साउद, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, नेपाल सरकारका सचिवहरू उपस्थित थिए । सोमबार र मंगलबार गरी २ दिन सञ्चालन हुने अन्तरक्रियामा मंगलबार प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूचि रहेको छ ।


