प्रतिपक्षको अवरोधका बावजुद पनि नीति तथा कार्यक्रम पारित
प्रतिपक्षको अवरोधका बावजुद पनि आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पारित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा छलफलका लागि प्रस्ताव पेश गर्नुभएको नीति तथा कार्यक्रम माथी छलफल प्रारम्भ भएर पारित भएको हो । प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०८१ /८२ को नीति तथा कार्यक्रममाथि छलफल आरम्भ गर्न संसदमा प्रस्ताव गर्नुभएको थियो । प्रतिपक्षी सांसदहरूको अवरोधकै बीच उहाँले आफ्नो प्रस्ताव पेश गर्नुभएको हो ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बैठकमा विरोध गरिरहेकैबेला बैठकमा छलफल सुरुभएको थियो । सहकारीमा भएको ठगीको विषयमा संसदीय छानविन समिति गठनको माग गर्दै सो दलले विरोध गर्दैआएको छ । व्यक्ति तोकेर मात्र समिति गठन गर्नुपर्ने माग कांग्रेसले गरेपछि सहमति बन्न नसकेको सत्ता पक्षका दलका नेताहरुको भनाइ छ ।
छलफलमा भाग लिंदै नेकपा (एमाले)का उपाध्यक्ष तथा सांसद विष्णुप्रसाद पौडेलले नीति तथा कार्यक्रममा राम्रा विषयवस्तु समेटिएकाले पक्षमा आउन सबैलाई आग्रह गर्नुभएको थियो ।
प्रधानमन्त्रीले प्रस्ताव राखेपछि सभामुखले दुई वटा संशोधनका सूचना प्राप्त भएको जानकारी गराएका थिए । त्यसपछि जनमोर्चाका चित्रबहादुर केसीलाई आफ्नो संशोधन प्रस्ताव राख्न उहाँले पाँच मिनेट समय दिनु भएको थियो । अगाडि जान सम्भव नभएपछि केसीले आफ्नै आसनबाट उठेर भनाइ राख्नु भएको थियो तर, उहाँले आफ्नो संशोधन नराखीकन सहकारी ठगीको विषय पेस गर्नुभएको थियो । नीति कार्यक्रमलाई समर्थन नगर्ने भन्दै उहाँले आफ्नो भनाइ टुङ्ग्याउनु भयो ।


