पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवलको दाउन्ने खण्डको सडक मर्मतको काम एक हप्ताभित्र सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालय, नवलपुरले सरोकारवाला पक्षसँग बिहीबार छलफल गरेपछि प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले वर्षाको समयमा हुन सक्ने अवरोधलाई दृष्टिगत गर्दै तीन दिनभित्रमा काम सुरु गरेर एक हप्ताभित्र मर्मतको काम सक्न निर्देशन दिनुभएको हो ।
उहाँले भन्नुभयो, “एक दिन परेको पानीले त अवरोध भएर बाटो अस्तव्यस्त भयो । बर्खामा झन् ठुलो समस्या आउन सक्छ । त्यसैले बर्खामा कुनै अवरोध नहुने गरी एक हप्तामा मर्मतको काम सम्पन्न गर्नूस् ।” निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन प्रालिले भने बजेटको अभाव देखाउँदै घुमाउरो ढङ्गले काम सुरु गर्न नसक्ने जवाफ दिएको छ । चिनियाँ ठेकेदार प्रमुख योहाङ जेनखुनले भन्नुभयो, “हामीसँग भएको बजेट छिट्टै सकिने भएकाले काम गर्न समस्या भइरहेको छ ।”
हस्तक्षेप गर्ने चेतावनी
ठेकेदार कम्पनीको कुरा सुनेपछि सडक आयोजनाले हस्तक्षेप गर्ने चेतावनी दिएको छ । नारायणघाट–बुटवल सडकको पूर्वीखण्डका आयोजना प्रमुख आशिष थापाले मर्मत थाल्न निर्देशन दिँदै भन्नुभयो, “मर्मत गर्नुपर्ने अहिले हो । तपाईंहरूले पैसा छैन भनेर यात्रुलाई दुःख दिन पाउनुहुन्न । तपाईंहरू गर्न सक्नुहुन्न भने हामी गर्छौं । तपाईंहरूबाट पछि सोधभर्ना लिन्छौँ ।” उहाँले सम्झौता पालना गर्ने नेपाल सरकार र निर्माण कम्पनी दुवैको जिम्मेवारी भएको प्रस्ट पार्दै निर्माण पक्षले दायित्व पूरा नगरे सम्झौता अनुसार प्रक्रिया अगाडि बढ्ने बताउनुभयो ।


