प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र)को विधान अधिवेशनबाट प्रत्यक्ष निर्वाचन गर्ने निर्णय भएकाले आगामी दिनमा पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्ने र मनोनयन प्रथा अन्त्य गरिने बताउनु भएको छ ।
अनेरास्ववियू (क्रान्तिकारी) को चौथो पूर्ण बैठकलाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डले पार्टीका सबै निकायमा निर्वाचन प्रणाली लागु गरिने बताउनु भयो ।
प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रस्तुति निकै शक्तिशाली भएको स्पष्ट पार्दै अन्तर्राष्ट्रिय मञ्चहरूबाट नेपालले विश्वलाई शक्तिशाली सन्देश दिएको बताउनु भयो ।
उहाँले माओवादी निर्णायक शक्ति भएर अगाडि बढिरहेको र आज पनि विचार र राजनीतिमा माओवादी श्रेष्ठ रहेको बताउँदै प्रचण्डले माओवादी नेतृत्वप्रति जनताको भरोसा रहेको बताउनु भयो ।


