नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिममा केन्द्रीय गठवन्धनअनुसार सरकार चलिरहेको र संङ्घीय सरकारमा पनि पार्टी छिट्टै सहभागी हुने बताउनु भएको छ ।
सोमबार गृहनगर टीकापुर पुग्नु भएकी अध्यक्ष श्रेष्ठले पत्रकारसँग कुरा गर्नुहुँदै नागरिक उन्मुक्ति पार्टीबाट विजयी सुदूरपश्चिम प्रदेश सभाका पाँच जना प्रदेश सभा सदस्य प्रतिपक्षको लाइनमा धेरै दिन बस्नु नहुने बताउनुभयो ।
श्रेष्ठका अनुसार नागरिक उन्मुक्ति पार्टी सरकारमा जाँदा एक जना मन्त्री र एक जना राज्यमन्त्री हुने सहमति भइसकेको छ । प्रधानमन्त्रीको विदेश भ्रमण, बजेट लगायतका कार्यक्रमले ढिलो भयो अहिले राष्ट्रपति विदेश भ्रमणमा रहनुभएकाले ढिलो भएको छ । राष्ट्रपति स्वदेश फर्किनु भएपछि सरकारमा सामेल हुने श्रेष्ठले बताउनुभयो ।
नागरिक उन्मुक्ति भित्रबाटै नयाँ पार्टी जन्मिन्छ भन्ने बहस भइरहेको बेला अध्यक्ष क्षेष्ठले अहिलेसम्म संरक्षक (रेशमलाल चौधरी) ले पार्टीका तर्फबाट प्रशिक्षण दिइरहनु भएकाले अर्को पार्टी खुल्छ भन्ने शंका नरहेको बताउनुभयो ।
२०७८ फागुनमा स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले २०८० पुसमा महाधिवेशन गरेको थियो । महाधिवेशनले रेशमलाल चौधरीलाई अध्यक्ष चयन गरे पनि निर्वाचन आयोगले मान्यता नदिएपछि संस्थापक अध्यक्ष श्रेष्ठ स्वतः अध्यक्ष हुनुभएको छ । उहाँले विगतभन्दा यसवर्ष कैलाली क्षेत्र नम्बरमा राम्रो बजेट विनियोजन भएको र रातो किताब आएपछि थाहा हुने पनि बताउनुभयो ।


