वैशाख ८, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले सहज जित निकालेको छ ।मुम्बईमा बुधबार राति भएको खेलमा दिल्लीले पन्जाब किङ्सलाई ९ विकेटले हराएको हो ।
पन्जाबले दिएको १ सय १६ रनको लक्ष्य दिल्लीले १० ओभर ३ बलमा मात्र १ विकेट गुमाएर पूरा गर्यो ।दिल्लीको जितमा डेभिड वार्नरले अविजित ६० रनको अर्धशतकीय इनिङ खेले । यस्तै पृथ्वी शले ४१ रन बनाए । सर्फराज खान १२ रनमा अविजित रहे ।पन्जाबका राहुल चाहरले १ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा अलआउट हुँदै १ सय १५ रन जोडेको थियो ।पन्जाबका जितेश शर्माले ३२ रन बनाए । कप्तान मायांक अग्रवालले २४ तथा शाहरुख खान र राहुल चाहरले १२/१२ रन जोडे ।दिल्लीका ललित यादव, खलिल अहमेद, अक्षर पटेल र कुलदिप यादवले २/२ विकेट लिए ।
दिल्लीको यो तेस्रो जित हो । जितसँगै दिल्ली छैटौं स्थानमा उक्लिएको छ । दिल्लीले ६ खेलमा ६ अंक जोडेको छ । पन्जाबको यो चौंथो हार हो । पन्जाब ७ खेलमा ६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।


