संसदका प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (एमाले) विचको पछिल्लो राजनीतिक सहकार्यको प्रतिफल एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री बन्न लाग्नु भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि शुक्रबार आह्रवान गर्नु भएपछि अध्यक्ष ओली काँग्रेसको समर्थनमा तेस्रो पटक प्रधानमन्त्री हुन लाग्नु भएको हो । राष्ट्रपति पौडेलले असार ३० गते आइतबार साँझ ५ बजेसम्मका लागि आफ्नो दावी पेश गर्न दलका नेताहरुका लागि समय निर्धारण गर्नुभएको छ ।
सो आह्रवान अनुसार कांग्रेस र एमालेका नेताहरु शुक्रबार साँझ बहुमत सदस्यको हस्ताक्षरसहित दावी पेश गर्न राष्ट्रपतिसमक्ष पुग्नु भएको थियो । आइतबारसम्म मुलुकले नयाँ प्रधानमन्त्री पाउने र शपथ हुने सम्भावना छ । शुक्रबार साँझ काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेता तथा सांसदहरु हस्ताक्षरसहित दावी पेश गर्न शितल निवास पुग्नुभएको थियो ।
संविधानको धारा ७६ (२) मा भनिएको छ, “उपधारा (१) बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ ।”
यसअघि नेता ओली पहिलो पटक २०७२ असोज २४ गते देशको प्रधानमन्त्री हुनुभएको थियो । त्यसैगरी, दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री हुनुभयो । अब तेस्रो पटक २०८१ असार ३० गतेभित्र प्रधानमन्त्रीको जिम्मेवारीमा आउँदै हुनुहुन्छ ।


