झण्डै डेढ वर्षअघि अमेरिकी दूतावासलाई लेखेको एक पत्रका कारण यतिबेला उपसभामुख इन्दिरा राना विवादमा पर्नुभएको छ । अमेरिकाको एक कार्यक्रममा सहभागी हुनका लागि ५ जनालाई भिसाको अन्तरवार्ताका लागि समय मिलाउन सिफारिस गरेको उहाँको पत्र सार्वजनिक भएसँगै विवाद बढेको हो ।
बालबालिकाको क्षेत्रमा काम गर्ने सीएसडब्लु भन्ने संस्थाले गरेको कार्यक्रममा आफू सहभागी हुन लागेको र त्यही बेला भिसा अन्तरवार्ताको प्रि–डेटको सिफारिसका लागि केही मान्छे धाइरहेपछि पहिलाको अभ्यास अनुसार नै सिफारिस गरेको उपसभामुख रानाको तर्क छ ।
उपसभामुखले ५ जनालाई सिफारिस गर्नुभएको थियो ।
उपसभामुख रानाले आफू सन् २००५ देखि अमेरिका जान थालेको र २००८ देखि बेलायत जान थालेको बताउँदै त्यसयता कसैलाई पनि विदेश नलगेको बताउनु भयो । अमेरिकी भिसाका लागि अन्तरवार्ता दिन १ वर्ष अगाडिदेखि नै मिति लिएर बस्नुपर्ने र ती व्यक्तिले सीएसडब्ल्यु कार्यक्रमका लागि बोलाएको भन्दै सिफारिस मागेको उहाँको भनाइ छ ।
डेढ वर्षपछि यो विषय बाहिर निकालेर विवाद खडा गरिएकोमा आफू अचम्मित भएको उपसभामुख रानाको भनाइ छ ।


