दोलखामा महिलालाई भगवतीको मूर्ति हेर्न र मन्दिरभित्र पस्न निषेध गरिको छ ।
दोलखाको भीमेश्वर नगरपालिका–५ स्थितको पवित्र महाँकाल भगवतीको मन्दिरभित्र पसी महिलाले भगवतीको दर्शन गर्न गर्नु हुँदैन भन्ने प्रचलन रहिआएकाले महिलालाई भगवतीको मूर्ति हेर्न र मन्दिरभित्र पस्न निषेध गरिँदै आइएको हो ।
पुजारीको काम गर्दै आउनु भएका सुजन बोहोराका अनुसार पौराणिक कालदेखि नै महिलालाई प्रवेश निषेध गरिएको छ । महाँकाल भगवतीले परेवा र पाठीको कलेजो र फोकसो मात्र भोग खाने गरेको धार्मिक विश्वासका कारण महिला भित्र प्रवेश गरेमा अनिष्ट हुने र आँखा समेत बन्द हुने गरेको सत्यताका उदाहरण धेरै भएकाले मन्दिरभित्र प्रवेशमा वञ्चित गरिएको हो ।
एक पटक दर्शन गरेपछि मनको इच्छा पूरा हुने धार्मिक आस्थाको धरोहर मानिएकाले यो मन्दिरमा पुरुषले मात्र पूजाआजा र दर्शन गर्ने गरेका छन् ।
मन्दिरको अगाडिपट्टि चौरासी वटा महादेवको मूर्ति स्थापना गरिएको छ । चैरासी वर्ष पुगेका दोलखा, रामेछाप र सिन्धुपाल्चोकका भक्तजन चौरासी गर्नका लागि यहाँ आउने गरेका छन् । यहाँ पूजा गरेको परेवा पाठीको मासु पौराणिक कालदेखि नै तोकिएको सिमानाबाहिर लान नहुने हुँदा भक्तजनलाई मासु पकाउन भाँडाकुँडाको व्यवस्था समेत गरिएको छ ।
यहाँ तीज र बालाचतुर्दशीमा मेला लाग्ने गर्दछ । यो दिन बेलुका बत्ती बाल्नका लागि छिमेकी जिल्लाबाट धेरै सख्यामा भक्तजन आउने गरेका पुजारी बोहोराले जानकारी दिनु भयो ।
महिलाहरूले आफूहरूलाई मन्दिर प्रवेशमा लाग्दै आएको निषेध हटाउनुपर्ने माग खुलेर राख्न सकेका छैनन् । मन्दिरमा पूजा गर्न आउनु भएकी सुन्तली श्रेष्ठले भन्नुभयो,पिता पुर्खादेखि चलिआएको चलनलाई खिन्न मान्नुभन्दा चित्त बुझाएरै आएका छौँ । आस्थालाई तोड्ने आँट भित्रैदेखि आउँदैन । बाहिरबाटै पूजाआजा गरे पनि मनोकाङ्क्षा भने पूरा भएकै छ ।


