काठमाडौं । आगामी फागुन २१ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुने तयारीमा रहेको नेपाली चलचित्र ‘शुभ विवाह’को डबिङ कार्य धमाधम भइरहेको छ।
निर्देशक सुदर्शन थापाको निर्देशनमा बनेको चलचित्रमा अभिनेता प्रदीप खड्का, अभिनेत्री सनीशा भट्टराईलगायत सम्पूर्ण कलाकार डबिङमा व्यस्त छन्।
सुपरहिट चलचित्र ‘प्रेम गीत’पछि निर्देशक सुदर्शन थापा र अभिनेता प्रदीप खड्काबीच लामो समयपछि ‘शुभ विवाह’मार्फत पुनः सहकार्य भएको हो। यस कारण पनि चलचित्रलाई दर्शकले चासोका साथ प्रतीक्षा गरिरहेका छन्।
चलचित्रमा प्रदीप र सनीशासँगै हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुङ्गाना, विशाल पहारी, अंशु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईँ, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्यलगायत कलाकारको अभिनय रहनेछ।
प्रियदर्शन फिल्म्सको ब्यानरमा निर्माण भइरहेको चलचित्रका कार्यकारी निर्माता साम भुजेल हुन्। प्रदीप श्रीवास्तवको कथा रहेको चलचित्रको पटकथा तथा संवाद रामशरण पाठकले तयार पारेका छन्।
चलचित्रमा अर्जुन पोखरेलको संगीत, रेभन आरती सिंहको पार्श्व संगीत, राजेश श्रेष्ठको छायांकन, मिलन श्रेष्ठको सम्पादन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ तथा विक्रम स्वारको नृत्य निर्देशन रहेको छ। ट्रेलर सम्पादनको जिम्मेवारी साहिल खानले सम्हालेका छन्।
चलचित्रको डिजिटल पार्टनर बुढासुब्बा डिजिटल रहेको छ भने वितरणको जिम्मेवारी भीष्म फिल्म्स् र श्री राम बालाजीले लिएका छन्।


