अमेरिका आप्रवासीको मुलुक हो । आप्रवासीकै पसिनाले अमेरिका अहिलेको अवस्थामा पुगेको हो तर गत हप्ताको शपथग्रहण सँगसँगै अमेरिकामा गैरकानुनी रूपमा रहे बसेका सबै आप्रवासीलाई सामूहिक रूपमा देश निकाला गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणाले सबै कागजपत्रविहीन आप्रवासीको मनमा एउटा भयानक त्रासदी छाएको छ ।
‘सेन्टर फर माइग्रेसन स्टडिज’ ले हालै निकालेको तथ्याङ्क अनुसार हाल अमेरिकामा एक करोड ३३ लाख मानिस गैरकानुनी वा कुनै कानुनी कागजपत्रबिना नै अमेरिकाका विभिन्न स्थानमा बसोबास गरिरहेका छन् । यीमध्ये अधिकांशले काम गरेर आर्थिक उपार्जन गरिरहेका छन् ।
राष्ट्रपति ट्रम्पको कार्यकाल गत जनवरी २० मा सुरु भएपछिको पहिलो कार्यकारी आदेशमा गैरकानुनी तवरले अमेरिकामा रहेका सबै आप्रवासीलाई आफ्नै घर फिर्ता पठाउने योजना अनुरूप अहिले इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइसिई) ले आप्रवासीमाथि निकै धरपकड सुरु गरेको छ र मेक्सिकोसँगको सीमा इलाकामा एक हजार पाँच सय आइसिईलाई पठाइसकेको छ । अहिले दैनिक रूपमा करिब तीन सय कागजपत्रविहीन आप्रवासीलाई गिरफ्तार गरिएको छ । बुधबार पोप फ्रान्सिसले अमेरिका अवसरको देश हो र यसको नीति सबैलाई स्वागत गरेर लैजाने हो, त्यसैले ट्रम्पको यो कदम अनुचित हो भन्नुभएको थियो ।
बिहीबार मात्र आइसिईले अमेरिकाका १० वटा ठुला सहरबाट करिब एक हजार तीन सय मानिसलाई गिरफ्तार गरेको छ । जसमध्ये एक हजार जति आपराधिक पृष्ठभूमिका रहेको कुरा समाचारपत्रले जनाएका छन् । आइसिईलाई शङ्कास्पद मानिसलाई समाउने र नियन्त्रणमा लिन सक्ने गरी अधिकार दिइएको छ । तर पनि केही राज्य तथा सहरमा भने यस्ता गतिविधि रोक्न सक्ने गरी कानुन बनेकाले आइसिईले ती स्थानबाट मानिसलाई समाउन सकेको छैन ।
अमेरिकाले धमाधम मानिसलाई गिरफ्तार गरेर स्वदेश फर्काउने नीति अनुरूप कदम चालेपछि उता मेक्सिकोले अमेरिकी सीमा इलाका सियु ड्याड जुवारेजमा ठुलो लगानीमा हजारौँ मानिस बसोबास गर्न सक्ने किसिमको घर तथा टहराको निर्माण सुरु गरिसकेको छ । अमेरिकामा सबैभन्दा धेरै गैरकानुनी आप्रवासी मेक्सिकोका छन् । सेन्टर फर माइग्रेसन स्टडिजले दिएको जानकारी अनुसार अमेरिकामा करिब ५२ लाख मेक्सिकन रहेका छन् ।


