काठमाडौं , फागुन ६
फागुन १४ गते महाशिवरात्रीको दिनबाट प्रदर्शनमा आउन लागेको यो वर्षकै प्रतिक्षित चलचित्र ‘लाज शरणम्’ लाई पाटन उच्च अदालतले सेन्सर बोर्डले अनुमति नदिएसम्म कुनै पनि प्रचार सामग्री सार्वजनिक गर्न नपाउने आदेश दिएको छ।
पूर्वमन्त्री मोहम्मद अफताव आलमको मुद्दामा सुनुवाइ गर्दै मंगलबार न्यायाधीधद्वय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।
निलम्बित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमले दायर गरेको मुद्दाका आधारमा अदालतले फिल्म लाज शरणम सम्बन्धी कुनै पनि प्रचार सामग्री सार्वजनिक नगर्न निर्देशन दिएपछि फिल्मको ट्रेलर रिलिज कार्यक्रम स्थगित भएको छ।
निर्माताहरूले भोलि सार्वजनिक गर्ने तयारी गरेका थिए, तर अदालतको आदेशपछि हाललाई कुनै पनि प्रवर्द्धनात्मक सामग्री बाहिर ल्याउन नपाउने भएको छ। आलमले फिल्ममा सिताराम कट्टेल ‘धुर्मुस’को देखाइएको पात्र आफ्नो गेटअपसँग मेल खाने भन्दै मुद्दा दायर गरेका थिए।
यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।‘सक्किगोनि’ टिमले बनाएको यो चलचित्रमा धुर्मुस, विजय, अर्जुन, सागर, हरिष र प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।


