विराटनगर – नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको रक्षा, स्थिरता र विकासका लागि सबै लोकतान्त्रिक शक्तिहरूलाई हातेमालो गर्न आह्वान गरेका छन्। विराटनगरमा आयोजित ‘एकता सन्देश’ कार्यक्रममा सम्बोधन गर्दै उनले देश अझै पनि पूर्ण रूपमा संकटमुक्त नभएको बताउँदै गम्भीर चिन्ता व्यक्त गरे।
जेन्जी आन्दोलनले दिएको चेतना
प्रचण्डका अनुसार भदौ २३ गतेको जेन्जी आन्दोलनले देशका राजनीतिक शक्तिहरूलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको छ। तर, त्यसपछि २४ गतेदेखि दुई दिनसम्म सुरु भएको विध्वंसले देशका ऐतिहासिक धरोहरहरू जोखिममा पर्ने मात्र होइन, ‘नेपाल रहने कि नरहने’ जस्तो त्रासदीपूर्ण वातावरणसमेत सिर्जना भएको उनले स्मरण गराए।

‘जनताको भूमिका बिना रक्षा सम्भव छैन’
भदौ २४–२६ का घटनालाई उदाहरण दिँदै प्रचण्डले देशको रक्षा–सुरक्षाका लागि केवल सेना–प्रहरीमा भर पर्नु पर्याप्त नहुने बताए।
उनका अनुसार —
“सेनाले चाहेर पनि ऐतिहासिक धरोहर बचाउन सकेन। केही क्षणका लागि राज्य नै विहीनजस्तो अवस्था बन्यो। जनताको आत्मनिर्णयबिना सुरक्षा सम्भव हुँदैन।”
‘तीन करोड जनता नै नेपालको वास्तविक फौज’
भू–राजनीतिक संवेदनशीलतामध्ये नेपालले ठूला राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्न सैन्य शक्ति विस्तार गर्न नसक्ने भन्दै उनले भने—
“हामीसँग तीन करोड नेपाली जनताको शक्ति छ, यही नै हाम्रो राष्ट्रिय फौज हो। जनता जागे भने जस्तोसुकै ठूलो शक्ति पनि परास्त हुन्छ।”
निर्वाचन, सुधार र समाजवादको बीउ
सरकार गठनमा आफ्नो पक्षको भूमिका रहेको जिकिर गर्दै प्रचण्डले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सरकारलाई आग्रह गरे। उनले निर्वाचन निष्पक्ष र सही ढंगले हुनुपर्नेमा जोड दिए।
त्यस्तै, कृषि, शिक्षा, स्वास्थ्य र उद्योग क्षेत्रमा क्रान्तिकारी परिवर्तन गर्दै स्थानीय तहबाटै समाजवादको बीउ रोप्न नेतृत्व र कार्यकर्तालाई तयारी अवस्थामा रहन उनले अपिल गरे।
विचार उमेरले होइन, सही–गलतले निर्धारण हुन्छ : प्रचण्ड
पार्टी नेतृत्व र भूमिकाबारे प्रचण्डले अनुभव र युवा उत्साह दुवैलाई सम्मान गर्नुपर्ने धारणा राखे।
उनले भने—“वृद्धलाई पाखा लगाउनु भनेको अनुभव हटाउनु हो। युवाको उत्साह मार्नु पनि हुँदैन। समाज खल्बल्याउने काम नगरी सबैको भूमिका संयोजन गरेर अघि बढ्नुपर्छ।”
कार्यक्रममा प्रचण्डले मुलुकलाई समृद्ध, सुरक्षित र स्थिर बनाउन जनता र सबै लोकतान्त्रिक शक्तिहरूको साझा एकता अपरिहार्य रहेको दोहोर्याए।


