काठमाडौं, मंसिर १७
ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले राजनीतिक परिवर्तनमा सक्षम देखिने व्यक्तिहरू विकास, निर्माण र समृद्धिको एजेण्डामा भने असफल हुन सक्ने बताएका छन्। बुधबार उज्यालो पार्टी नेपालको औपचारिक घोषणा सभामा बोल्दै उनले नेतृत्व छनोटको कमजोरीले देश अघि बढ्न नसकेको प्रष्ट पारे।
मन्त्री घिसिङले सहि व्यक्तिको छनोट नगरी “हाम्रा–आफ्ना” मान्छेलाई मात्र अघि बढाउने प्रवृत्तिले देशको विकास रोकिएको बताए।
उनका शब्दमा, “सहि व्यक्ति, सहि समयमा, सहि स्थानमा हुनुपर्छ। त्यसपछि मात्रै ठूलो परिवर्तन सम्भव हुन्छ।”
उनले जनाए अनुसार भाषण गरेर जनतालाई प्रभावित पार्न सक्ने व्यक्तिहरू विकास, निर्माण र समृद्धिका एजेण्डामा अनिवार्य रूपमा सफल हुँदैनन्।उनी भन्छन्, “भाषणले देश बन्दैन्, कामले बन्छ। परिणाम चाहिन्छ।”
मन्त्री घिसिङले गलत नेतृत्व छनोटका कारण मन्त्रालयदेखि लिएर तल्लो तहका पदाधिकारीसम्म कमजोर व्यक्तिहरू जिम्मेवारीमा पुगेको र त्यसले अहिलेको अवस्था सिर्जना गरेको उल्लेख गरे।
उनले जोड दिए, “सही व्यक्तिहरूलाई जिम्मेवारी दिएको भए, आजको अवस्था आउने थिएन। प्रधानमन्त्रीदेखि तलसम्मको व्यक्तित्व सही हुनु आवश्यक छ।”
राजनीतिक परिवर्तन वा विचारधारा मात्रले देश रूपान्तरण नहुने उल्लेख गर्दै उनले सही नेतृत्व नै समृद्धिको मुख्य आधार भएको बताए। देशमा भएको परिवर्तनलाई अब परिणाममा रूपान्तरण गर्नुपर्ने उनले बताए।
आगामी फागुन २१ गतेको चुनावलाई उनले परिवर्तन संस्थागत गर्ने अवसरका रूपमा व्याख्या गरे।उनका अनुसार, “देशलाई फेरि पहिलेकै अवस्था फर्किन नदिई नयाँ मार्गमा लैजान यो चुनाव निर्णायक हुनेछ।”


