काठमाडौं , पौष ०८
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच सोमबार राति लामो समयसम्म छलफल भएको छ। कमलपोखरीस्थित रास्वपाका केन्द्रीय सदस्य असिम शाहको निवासमा भएको भेटवार्ता करिब पाँच घण्टा चलेको स्रोतले जनाएको छ।
सोमबार साँझ करिब ८ बजे सुरु भएको छलफल मंगलबार बिहान १ बजेसम्म निरन्तर चलेको थियो। वार्तामा रास्वपाको तर्फबाट सभापति लामिछानेसँगै उपसभापति डीपी अर्याल सहभागी थिए भने बालेन शाह पक्षबाट मेयर शाह स्वयंका साथै वार्ता समिति संयोजक कुमार बेनको उपस्थिति रहेको थियो।
स्रोतका अनुसार भेटमा आगामी दिनमा हुन सक्ने राजनीतिक सहकार्य र सम्भावित चुनावी तालमेलका विषयमा गम्भीर छलफल भएको बताइएको छ। यद्यपि छलफलबाट कुनै औपचारिक निर्णय भने सार्वजनिक गरिएको छैन। दुवै पक्षले संवादलाई निरन्तरता दिने र सकारात्मक रूपमा अगाडि बढाउने समझदारी बनाएको स्रोतको दाबी छ।
भेटवार्ता सम्पन्न भएपछि सभापति लामिछाने र मेयर शाह एउटै गाडीमा निवासबाट बाहिरिएका थिए, जसलाई अर्थपूर्ण संकेतका रूपमा हेरिएको छ।
भेटघाट सकिएपछि असिम शाहले सामाजिक संजाल फेसबुकमा यस्तो प्रतिक्रिया दिए
अन्ततः कथाको सुखद सुरुवात भएको छ।
रवि र बालेन—दुई दाजु–भाइको मिलन भएको छ।
यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो।
हामी सबै नेपाली लाई बधाई।


