काठमाडौँ, पुस १३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच ‘बृहत् एकता’ गर्ने सहमति भएको छ। दुवै नेताले एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने घोषणा गर्दै आइतबार सात बुँदे सम्झौतामा हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार, रवि लामिछाने रास्वपाको केन्द्रीय सभापति रहनेछन् भने आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनपछि बालेन शाहलाई संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार का रूपमा अघि सारिने उल्लेख छ।
एकीकरणपछि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ भने चुनाव चिह्न ‘घण्टी’ पनि यथावत् रहने सहमति भएको छ।
सहमति पत्रमा सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा आधारित बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन स्थापना गर्दै आम नागरिकका आकांक्षा सम्बोधन गर्ने साझा प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, भ्रष्टाचार र कुशासनविरुद्ध युवाहरूले सञ्चालन गरेका आन्दोलन, विशेष गरी भदौ २३ र २४ को ‘जेन–जी आन्दोलन’ लगायत विभिन्न कालखण्डका जनआन्दोलनबाट उठेका आवाजलाई संस्थागत रूपमा अघि बढाइने उल्लेख गरिएको छ।
लामिछाने र शाहबीचको सहमतिअनुसार बृहत् एकतापछि पार्टीको सङ्गठनात्मक संरचना थप सक्षम र फराकिलो बनाइने, योग्य, समावेशी र सार्वजनिक छवि भएका युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई जिम्मेवारी दिइने निर्णय गरिएको छ।
साथै, रास्वपाको सिद्धान्त, नेतृत्व र चुनाव चिह्न ‘घण्टी’ मा गोलबद्ध भई अन्य परिवर्तनकामी र सुसंस्कृत राजनीतिक शक्ति, समूह तथा व्यक्तिहरूलाई सहकार्यका लागि आह्वान गर्ने सहमति पनि भएको छ।



