काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा निर्वाचनमा सर्लाही क्षेत्र नं. ४ बाट उम्मेदवार बन्ने भएका छन्। यसअघि तीनपटक काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थापाले यसपटक निर्वाचन क्षेत्र परिवर्तन गर्दै मधेश प्रदेशबाट उम्मेदवारी दिने निर्णय गरेका हुन्।
कांग्रेस स्रोतका अनुसार थापा काठमाडौं, धनकुटा, रोल्पा र सर्लाही गरी चार निर्वाचन क्षेत्रबाट सिफारिस भएका थिए। पार्टीले अन्ततः सर्लाही–४ बाट उनको उम्मेदवारी टुंगो लगाएको हो।
सर्लाही–४ मा थापाको मुख्य प्रतिस्पर्धा नेकपा (एमाले)का रविसिंह कुशवाहा र नेपाली कम्युनिस्ट पार्टीका डा. रगनिस राय यादवसँग हुने देखिएको छ। यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह निर्वाचित भएका थिए।
२०७९ को निर्वाचनमा सिंहले २० हजार १७ मत प्राप्त गर्दै विजयी हुँदा कांग्रेसका उम्मेदवार नागेन्द्रकुमार रायले १८ हजार २५३ मत प्राप्त गरेका थिए। यसपटक क्षेत्रको राजनीतिक समीकरण परिवर्तन भएको भन्दै विश्लेषकहरूले सर्लाही–४ को चुनावलाई निकै चासोका साथ हेरिरहेका छन्।
कांग्रेसले सभापति थापाको उम्मेदवारीलाई मधेश केन्द्रित रणनीतिक कदमका रूपमा लिएको छ। यससँगै सर्लाही–४ मा यसपटक त्रिकोणात्मक प्रतिस्पर्धासहित कडा राजनीतिक भिडन्त हुने संकेत देखिएको छ।


