रूपन्देही । रूपन्देही निर्वाचन क्षेत्र नम्बर–२ मा यसपटक चुनावी प्रतिस्पर्धा निकै रोचक बनेको छ। नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवारी दिएका विश्वदीप पाण्डे सत्तारूढ नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलसँग प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
चुनावलाई अझ चासोपूर्ण बनाउने पक्ष भनेको विश्वदीप पाण्डेका पिता भक्ति पाण्डेले पनि विगतमा विष्णु पौडेलसँग चुनावी प्रतिस्पर्धा गरिसकेका हुनु हो। यसरी बाबु पुस्ताले लडेको राजनीतिक मैदानमा अहिले छोरा पुस्ता उत्रिनुले रूपन्देही–२ मा पुस्तान्तरणको बहसलाई समेत बल दिएको छ।
युवापुस्ताको प्रतिनिधित्व गर्दै उम्मेदवार बनेका विश्वदीप पाण्डेले अब पुरानो पुस्ताले नेतृत्वको जिम्मेवारी युवालाई हस्तान्तरण गर्नुपर्ने सन्देशसहित चुनावी अभियान सञ्चालन गरिरहेका छन्। परिवर्तन, जवाफदेहिता र नयाँ सोचसहित संसदमा प्रवेश गर्ने उनको दाबी छ।
रूपन्देही–२ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार विश्वदीप पाण्डेसँगै एमाले उपाध्यक्ष विष्णु पौडेल, नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका शुलभ खरेल लगायत ४० भन्दा बढी उम्मेदवार चुनावी मैदानमा रहेका छन्। बहुपक्षीय प्रतिस्पर्धाका कारण यस क्षेत्रको चुनाव परिणामलाई विशेष चासोका साथ हेरिएको छ।


