काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस सभापति ममता शर्माले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा घोषणा गरेकी छन्। मधेस प्रदेशकी संस्थापक सभापति तथा केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्य रहेकी उनले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेको बताएकी हुन्।
राजीनामा पत्रमा उनले पार्टीको निर्वाचन पद्धति, निर्णय प्रक्रिया र कार्यशैली स्थापनाकालीन मूल्य, पार्टी विधान तथा सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत भएको अनुभूति भएको उल्लेख गरेकी छन्।
उनका अनुसार संगठनमा खटिएका कार्यकर्ताको योगदानको उचित मूल्याङ्कन नभएको, विधि–विधान विपरीत गतिविधि भएको, सिद्धान्त व्यवहारमा लागू नभएको तथा आर्थिक अनियमितताबाट निर्णय प्रभावित भएको आरोपसमेत लगाएकी छन्।
ममता शर्मा बाराकी हुन्। यसपटक टिकट पाउने अपेक्षामा रहेकी उनी अन्तिम समयमा टिकट नपाएपछि असन्तुष्ट रहँदै आएकी थिइन्।
समानुपातिकतर्फ पनि उनले निवेदन दिएकी थिइन्। प्राइमरी निर्वाचनबाट तेस्रो नम्बरमा नाम निकाले पनि अन्तिम सूचीमा सातौँ नम्बरमा राखिएको भन्दै उनले समानुपातिकमा बस्न अस्वीकार गरेकी थिइन्।


